Logo

‘प्रहरी मेरो साथी’ कि ‘दुश्मन’, नागरिक कस्ता ?



माघ ६। काठमाण्डौ । नेपाल प्रहरीले ‘समुदाय– प्रहरी साझेदारी’ नामक नयाँ कार्यक्रम अभियानको रुपमा अघि सारेको थियो । प्रहरी मेरो साथी अभियान पनि चलिरहेकै छ । ‘मुस्कानसहितको सेवा’ कार्यक्रम पनि प्रहरीले ल्याएको थियो । यस्ता कार्यक्रमको उद्धेश्य भनेको प्रहरीले गर्नुपर्ने काममा नागरिकको सहकार्य अनि प्रहरी र नागरिकबीचको सम्बन्ध सुमधुर हो । तर अभियान एकातिर व्यवहार अर्कोतिर भइरहेको छ ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानमा संलग्न प्रहरी अधिकृत आफैं बर्खास्तीमा पर्नु, बौद्ध वृत्तका तत्कालीन डिएसपी श्यामकुमार राई घुससहित पक्राउ पर्नु, सुर्खेतमा घुस लिएर भाग्दै गरेका प्रहरी निरीक्षक सुशोभन श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गर्नु जस्ता घटनाक्रमले प्रहरी संगठनभित्रको वेथिती उजागर गर्छ । यतिबेला गायिका आस्था राउत र त्रिभुवन विमानस्थलको प्रहरी प्रशासन चर्चामा छ । राउतले गल्ती गरिन् वा प्रहरीले त्यो विस्तारै खुल्दै जाला ।

यसअघि पनि प्रहरी र सर्वसाधारणबीचको विवाद सार्वजकि नभएका होइनन् । अधिकांश घटनामा प्रहरीको गल्ती देखिने गरेको छ । शान्ति सुरक्षा र अपराध नियन्त्रण प्रहरीको मुख्य जिम्मेवारी भएपनि यदाकदा भ्रष्टाचार, फितलो अपराध अनुसन्धान, फेक इन्काउन्टर, जालसाँजी लगायतका अपराधजन्य क्रियाकलापमा संलग्न भएपछि प्रहरीप्रति सर्वसाधरणको गुनासो कायमै रहने गरेको छ । सडक र सवारी व्यवस्थापनका क्रममा ट्राफिक प्रहरीले गर्ने व्यवहारबाट पनि सर्वसाधारण दिक्क हुने गरेका छन् ।

यता प्रहरी प्रशासनले भने केही कमी कमजोरी भए पनि शान्ति सुरक्षा कायमदेखि सडक र सवारी व्यवस्थापनलाई प्राथमिकता दिएको दावी गर्छ । नागरिकसँग सुमधुर सम्बन्ध राख्दै सहकार्य गर्नु प्रहरीको लक्ष्य भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिम ढकाल बताउँछन् ।

नयाँ प्रहरी महानिरीक्षक र गृहमन्त्री आउने वित्तिकै नयाँ नारासहितका कार्यक्रमको उद्घाटन हुन्छ । गृहमन्त्रीले प्रतिवद्धता पनि व्यक्त गर्छन् । तर प्रहरीको कार्यशैली नफेरिएपछि ती नारा क्षणिक बन्नपुग्छन् । पछिलो समय सर्वसाधारण, पत्रकार, कलाकार, लेखकलगायतलाई विभिन्न बहानामा प्रहरी प्रशासनले दुःख दिने गरेको आरोप लाग्दै आएको छ ।

जनताको निकटतम सम्पर्कमा रही अहोरात्र जनताकै सेवा र सुरक्षामा समर्पित रहने प्रहरीको जनतासँग सधैं नजिकको हेलमेल एवं सुमधुर सम्बन्ध हुनुपर्छ । एकले अर्काको पीरमर्का र समस्या बुझ्ने, आफूबाट हुन र गर्न सकिने सहयोग पु¥याउने तथा आपतविपत्तको अवस्थामा सहारा बनिदिने अवस्था सिर्जना भए मात्रै प्रहरी र जनताबीचको सम्बन्ध सुदृढ भएको अनुभूति हुन्छ ।

https://youtu.be/X_zmYp13gQs



प्रतिक्रिया दिनुहोस्