Logo

प्रयोगात्मक परीक्षाको अङ्क दिन मापदण्ड



काठमाडौँ, ७ माघ । अबदेखि विद्यालय तहमा तोकिएको मापदण्डका आधारमा मात्र प्रयोगात्मक परीक्षाको अङ्क दिन पाइने भएको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले स्वीकृत गरेको विद्यालय तहको पाठ्यक्रममा प्रयोगात्मक अङ्कका लागि मापदण्ड निर्धारण गरिएपछि सो व्यवस्था भएको हो ।

शिक्षकले मापदण्ड अनुरूप अङ्क प्रदान गर्ने भएपछि हालको जस्तो वार्षिक परीक्षामा सैद्धान्तिकमा ‘ई’ ग्रेड ल्याएका परीक्षार्थीको प्रयोगात्मकमा ‘ए प्लस’ प्राप्त हुने प्रवृत्ति स्वतः हट्ने छ । पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक डा. लेखनाथ पौडेलले भने , “शिक्षकले प्रयोगात्मक परीक्षामा जथाभावी अङ्क दिन पाउने छैनन् । वास्तविक प्रयोगात्मकका आधारमा विद्यार्थीले अङ्क पाउने छन् ।” स्वीकृत पाठ्यक्रमअनुसार कक्षा १–३ मा विद्यार्थीको कक्षा सहभागिता, कार्य गरे नगरेको मूल्याङ्कन गर्ने, हरेक पाठ पढिसकेपछि परीक्षा लिने र त्यसमा शिक्षक तथा अभिभावकको हस्ताक्षर गराउने, विद्यार्थीको सिकाइ उपलब्धि हेर्ने लगायतका मापदण्ड तोकिएको छ । सो तहमा सामान्यभन्दा कम, सामान्य, प्रवीण र उच्च गरी चार तहमा मूल्याङ्कन विधि प्रयोगमा ल्याइने छ । हरेक पाठपछि लिइने परीक्षामा सामान्यभन्दा कम र सामान्य श्रेणी ल्याउने विद्यार्थीको सिकाइलाई प्रवीण वा उच्च पु¥याउने गरी सुधार गर्नुपर्ने प्रावधान नयाँ पाठ्यक्रममा गरिएको छ । कक्षा १ देखि ३ सम्म वार्षिक परीक्षा हुने छैन । कक्षा ४ देखि ८ मा ५० प्रतिशत मूल्याङ्कन लिखित परीक्षाबाट र बाँकी ५० प्रतिशत मूल्याङ्कन प्रयोगात्मक हुनेछ । विगतमा कक्षा ४ र ५ मा ५०–५० प्रतिशत रहे पनि कक्षा ६–८ मा ६० प्रतिशत अन्तिम परीक्षा र ४० प्रतिशत आन्तरिक मूल्याङ्कन गरिन्थ्यो ।

कक्षा ४–८ का विद्यार्थीले आन्तरिक ५० प्रतिशत मूल्याङ्कनका लागि परियोजना कार्य, इन्टरनेट तथा सञ्चार माध्यमबाट पाठ खोजी, सिकाइ उपलब्धि, कक्षा सहभागिता लगायतलाई मापदण्ड निर्धारण गरिएको छ । कक्षा ११–१२ मा प्रयोगात्मक परीक्षामा परियोजनाबाट १२ अङ्क, प्रयोगबाट चार अङ्क, त्रैमासिक परीक्षाबाट छ अङ्क र कक्षा सहभागिताबाट तीन अङ्क गरी २५ अङ्क प्राप्त गर्नेछन् । परियोजना र प्रयोग अन्तर्गत लघु शोध, सूचना प्रविधिको प्रयोग, सामुदायिक कार्य, नेतृत्व विकास लगायतका कार्य गर्नुपर्ने हुन्छ । केन्द्रका सूचना अधिकारी गणेशप्रसाद भट्टराईले विगतमा ज्ञानमा आधारित प्रयोगात्मक हुने गरेको बताउँदै भने, “प्रयोगमुखी बनाउन लागेका छौँ । सीप र व्यवहारमुखी बनाउन खोजेका हौँ ।” उहाँले कक्षा ९–१० मा पनि कक्षा ११–१२ कै मूल्याङ्कन विधिलाई अवलम्बन गरिने बताए ।

हालसम्म प्रयोगात्मक मूल्याङ्कनको अङ्क सम्बन्धित शिक्षकले नै दिने प्रचलन छ । प्रवेशिका परीक्षा तथा कक्षा ११ र १२ को वार्षिक परीक्षाको नतिजा अध्ययन गर्ने हो भने शिक्षकहरूले कमजोर वा अब्बल विद्यार्थी सबैलाई प्रायः एकैखाले अङ्क प्रदान गर्ने गरेको पाइन्छ । सैद्धान्तिकमा निकै कमजोर रहेका विद्यार्थीले प्रयोगात्मकमा पूर्ण अङ्क पाउँदै आएका छन् । हाल कक्षा १० मा अनिवार्य विषयको गणित बाहेकमा प्रयोगात्मक परीक्षा सञ्चालन गरिन्छ । हरेक विषयमा ७५ प्रतिशत सैद्धान्तिक र २५ प्रतिशत प्रयोगात्मक परीक्षाका लागि छुट्याइएको छ ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्