Logo

पशुपति क्षेत्रबाट भट्टी पसल हटाइने



काठमाडौँ, ७ माघ  । पशुपति क्षेत्रमा खुलेका मदिरा र भट्टी पसललाई पशुपति क्षेत्र विकास कोषले हटाउने तयारी गर्दैछ । सोका लागि कोषले स्थानीय वडा कार्यालयसँग परामर्श लिने कार्य सम्पन्न गरेको छ । काठमाडौँ महानगरपालिका वडा नं. ७ सिफललगायतका क्षेत्रमा भने वडा कार्यालय र सामुदायिक प्रहरीको संयुक्त अग्रसरतामा यी पसल हटाइने भएको छ ।

पशुपति क्षेत्रलाई मांस मदिरामुक्त क्षेत्र बनाउने क्रममा पहिलो चरणमा भट्टी पसल चहार्दै मगन्ते जीवन बिताइरहेकालाई कोषले हटाएर मानव धर्म सेवा समितिको संरक्षकत्वमा व्यवस्थित गरेको छ । आश्रमबाट फर्केर यही प्रवृत्ति दोहरिन थालेपछि कोषले मदिरा पसल र भट्टी हटाउन लागेको हो । कोषका कोषाध्यक्ष डा। मिलनकुमार थापाका अनुसार मगन्ते हटाएपछि अब यहाँका अव्यवस्थित फूल तथा पूजा सामग्री पसल हटाउने र भाडामा दिएकालाई स्थानान्तरण गरेर मदिरा, मांस पसल हटाइने जनाइएको छ । कोषले यस्ता पसल हटाउन सात दिने सार्वजनिक सूचनासमेत जारी गरिसकेको छ । सूचना अवलम्बन गरिएपछि प्रशासनिक निकायको सहकार्यमा यी पसल हटाइने छ । कोषाध्यक्ष डा. थापाले भने, ‘‘कोष आफैले भाँडामा लगाएका ६४ टहरा कबलबाट २०६१ सालयता भाडा पाएको छैन र यी टहरा कबल अव्यवस्थित पनि भए ।’’

वडा नं. ७ का वडा सदस्य कृष्णमणि भट्टराईका अनुसार, वडा नं. ७ को पशुपति क्षेत्र जोडिने इलाकामा नै पाँच सयको हाराहारीमा मांस र मदिरा पसल छन् । सिफलको क्षेत्रमा दैनिक १२ वटासम्म खसी काट्ने मासु पसल छन् भने बाटामा मासु भाग लगाएर बिक्री गर्ने कार्य पनि त्यत्तिकै गरिन्छ । कोषका अधिकृतका अनुसार, गुह्येश्वरीमा भुटन पाइने नाम कहलिएको भट्टी यत्रतत्र छन् । विश्व सम्पदामा सूचीकृत पशुपति क्षेत्रलाई समस्त हिन्दुको गन्तव्य र सम्पदाको भावनामा ल्याउनै सकिएन भन्ने व्यापक जनगुनासो रहँदै आएको छ । पशुपतिको भुवनेश्वरी आसपास, गुह्येश्वरी पुलपारि, सिफल सेताढोका प्रवेशपछिका पसललाई मांस र मदिरा मुक्त गरिनुपर्छ भनेर स्थानीय सर्वसाधारणबाट गुनासो गरिँदै आएको छ ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्