Logo

जे भइरहेछ अस्ट्रेलियाली जंगलमा



काठमाडौँ, ७ माघ । अस्ट्रेलियामा सेप्टेम्बर पहिलो सातादेखि फैलिएको डढेलो अझसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । डढेलोका कारण हालसम्म २९ जनाले ज्यान गुमाइसकेका छन् । २ हजार ६ सय घरसहित करिब ६ हजार भौतिक संरचनामा क्षति पुगेको छ । आगलागीमा परेर करिब एक अर्ब वन्यजन्तु मरेका प्रारम्भिक अनुमान छ । १ करोड २५ लाख हेक्टर जमिनमा क्षति पुगेको छ, जुन नेपालको कुल क्षेत्रफलभन्दा करिब २२ लाख हेक्टरले कम हो । आगलागीका कारण अस्ट्रेलियाले अहिलेसम्मकै ठूलो क्षति व्यहोरेको छ ।

हरेक वर्ष किन डढेलो ?
अस्ट्रेलियाको कुल क्षेत्रफलमध्ये १७ प्रतिशत भूभाग घना जंगल र झाडी छ । यहाँ हरेक वर्ष गर्मी मौसममा डढेलो लाग्नु नियमितजस्तै हो । मानिसले नियतवश लगाउने आगो, मानवीय कमजोरी, दुर्घटना वा प्राकृतिक रूपमा पर्ने चट्याङलाई अस्ट्रेलियामा डढेलो सल्किने प्रमुख कारणका रूपमा लिइन्छ । अहिलेसम्मका अधिकांश डढेलो यिनै कारणले लागेको मानिन्छ । समाचार संस्था एबीसीका अनुसार यसबाहेक आगलागी मुख्यतः धूमपान, क्याम्पफायर, बालबालिकाको चकचक, फोहोर जलाउने कार्य लगायतले पनि आगलागी हुने गरेको छ ।

जिओसाइन्स अस्ट्रेलियाका अनुसार यहाँका वनस्पति तथा झारपात अन्य क्षेत्रका वनस्पतिभन्दा ज्वलनशील भएकाले समेत आगो सल्किने र तीव्रगतिमा फैलिने गरेको छ । घना जंगल, झरेका पात, सुकेका रुख र तीव्र गतिमा चल्ने हावाका कारण डढेलो अनियन्त्रित हुने गरेको छ । यसबाहेक लगातारको खडेरी, सुक्खा र बढ्दो तापक्रमले समेत डढेलो चर्काउने गरेको छ ।

अस्ट्रेलियन इन्स्टिच्युट अफ क्रिमिनोलोजीका अनुसार ३५ प्रतिशत आगलागीका घटना दुर्घटनावश हुने गरेका छन् भने ३७ प्रतिशत आगलागी शंकास्पद रूपमा हुने गरेको छ । प्राकृतिक रूपले ६ प्रतिशत आगलागी हुन्छ भने जानीजानी १३ प्रतिशत आगो लगाइने गरिएको छ । हरेक वर्ष अस्ट्रेलियामा डढेलोले क्षति पुर्‍याउने गरेको छ । यस्तै आगलागीमा परेर सन् १९१८ मा ५ व्यक्तिले ज्यान गुमाएका थिए भने सन् १९२६ मा ६० जनाको मृत्यु भएको थियो । अस्ट्रेलियाको १३ करोड ४० लाख हेक्टर क्षेत्रफल झाडी तथा जंगलले ढाकेको छ । यस वर्ष लागेको डढेलोले १२ प्रतिशत जंगल नष्ट बनाएको छ ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्