Logo

छाउगोठ बसेकामा पछुतो



काठमाडौँ, ७ माघ । छाउपडी प्रथा रहेको गाउँमा सोमबार पूर्वमिस नेपाल शृंखला खतिवडा पुगेकी छन् । सुर्खेतको पञ्चपुरी नगरपालिका–७ सान्ने पुगेकी हुन् । उनले ‘छुई बार्नु हुँदैन’ भनेर सम्झाइरहँदा स्थानीय रामबहादुर बुढा सोचमग्न भए । आफ्ना श्रीमती, छोरी, दिदीबहिनीहरूलाई अहिलेसम्म छाउगोठमा बसालेकामा उनले पछुतो बोध गरे ।

‘सबैले पहिलादेखि नै मान्दै आएकाले हामीले पनि पछ्यायौं,’ उनले भने, ‘देउता रिसाउँछन् भन्ने डर मनमा रहेकाले घरका महिलालाई घामको झुल्कै नपर्ने घरमा बसाल्यौं ।’ महिनावारी भएका बेला बस्नका लागि बनाइएका छाउघर अब भत्काउने उनले बताए । ‘सहरकी बहिनी हाम्रो गाउँमा आएर यसरी सम्झाउनुभयो,’ उनले भने, ‘आफ्नो घर नजिक बनाएको छाउगोठ भत्काउँछु र घरका कसैलाई पनि त्यस्तो ठाउँमा बसाल्दिनँ ।’

महिनावारी भएको समयमा सरसफाइ र खानपानमा ध्यान दिनुपर्छ खतिवडाले भनिरहँदा स्थानीय विमला बुढा भावुक भइन् । उनले सम्झिन्– आफू घरभन्दा टाढाको सानो कटेरामा बसेको । जुन कटेरामा उनी आफूलाई निकै असहज महसुस गर्थिन् । न हावा पस्थ्यो, न घाम । ‘बहिनीको कुराले मलाई सोच्न बाध्य बनायो,’ उनले भनिन्, ‘संस्कारका नाममा आफ्नो ज्यान नै जोखिममा पारेका रहेछौं ।’ अबदेखि छाउगोठ भत्काएर महिनावारी भएका बेला घरमै बस्ने उनले बताइन् । श्रीमान् पनि खतिवडाको कुरामा सहमत भई छाउगोठ भत्काउन मानेकामा विमला निकै खुसी भइन् ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्