Logo

एकीकृत नमुना बस्ती : हिमपातले रोकियो काम



काठमाडौँ, ७ माघ । धार्चे गाउँपालिका–४ लाप्राकस्थित गुप्सीपाखामा एकीकृत नमुना बस्ती त ठडियो तर पुनर्निर्माणले पूर्णता पाएको छैन । शौचालय र तलामा काठ छाप्ने काम बाँकी नै छ । दुई वर्षभित्रै बनाइसक्ने लक्ष्य राखिएकामा चार वर्ष बिते पनि हस्तान्तरणको मिति तय भएको छैन।

निर्माणको जिम्मा पाएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले काम नसकी हस्तान्तरणका लागि पटकपटक प्रयास गरेको थियो। बस्तीले पूर्णता नपाई जिम्मा नलिने अडानमा स्थानीय रहेपछि हस्तान्तरण रोकियो। निर्माणको अन्तिम चरणमा रहको बस्तीको काम हिमपातका कारण पुस १९ यता रोकिएको छ। शौचालय निर्माणको करिब ७० प्रतिशत काम सकिएको छ। हिउँ नपग्लिएकाले बाँकी काम हुन सकेको छैन। लगातार काम भए २५ दिनमा काम सकिने एनआरएनए बताउँछ। अहिले यहाँ ३ फिट हिउँ जमेको छ। २७ सय मिटर उचाइको उक्त क्षेत्रमा चार महिना हिउँ पर्ने भएकाले बस्न गाह्रो रहेको स्थानीय बताउँछन्। अधिकांश स्थानीय पुरानै बस्तीका घर मर्मत गरेर बसिसकेका छन्। कतिपय घरधुरी गुप्सीपाखाको घरको आशामा अझै टहरोमै दिनरात कटाइरहेका छन्। ‘दुई घर अनिवार्य चाहिने भयो,’ स्थानीय दीपक गुरुङले भने, ‘यति चिसो ठाउँ छ, चिसो छल्न तलमाथि गर्नैपर्छ।’

५ सय ७३ घरवासीलाई पर्यटनसँग जोड्नसके खण्डहर हुनबाट जोगाउन सकिने धार्चे गाउँपालिकाका अध्यक्ष सन्तबहादुर गुरुङ बताउँछन्। यो बस्तीलाई उद्यमी गाउँका रूपमा विकास गर्न अध्ययन भइरहेको उनले बताए। ‘यो वर्षको हिउँ कति समय बस्छ, अहिले भन्न सक्ने अवस्था छैन,’ उनले भने, ‘बूढाबूढीका लागि कष्टकर हुन्छ, जीविकोपार्जनको पाटोमा लैजान सकिए खण्डहर हुनबाट जोगाउन सकिन्छ।’ यसका लागि सामुदायिक होमस्टे, कुटिर उद्योगको परिकल्पना अघि सारेको उनको भनाइ छ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्