Logo

सरकारको हेलचक्र्याइँले पदयात्रा जोखिमपूर्ण



पोखरा, माघ ७ । २०७१ असोज अन्तिम साता अन्नपूर्ण फेरोको पदमार्ग क्षेत्रमा आएको हिमआँधीमा परी स्वदेशी र विदेशी गरी ४२ जनाले ज्यान गुमाए र कैयौं घाइते भए। ‘हुदहुद’ नामको त्यो हिमआँधीपछि पर्यटन क्षेत्रमा एउटा आवाज सशक्त रूपमा उठ्यो– पदयात्रा क्षेत्रमा अग्रिम सूचना दिने प्रणालीको मात्र अभाव छैन, मौसमबारे जानकारी दिलाउने निकाय पनि कमजोर छ।

६ वर्षअघिको त्यो समस्या तत्काल सल्टाउन कुनै निकायले तदारुकता देखाएन। हुदहुदको त्यो विनाशकारी घटनापछि समस्या उजागर गर्नमा त चासो देखाइयो तर समाधानका लागि कोही तत्पर भएनन्। अन्नपूर्ण फेरो मात्र नभई नेपालका सबैजसो साहसिक पदयात्रा हुने क्षेत्रमा यस्ता समस्या रहेको भन्दै बारम्बार छलफल गरिए पनि हालत उही छ। अग्रिम सूचना दिन ‘साइरन’ जडान र सञ्चार सम्पर्क गराउन आवश्यक प्रविधि विस्तारका लागि भनेर पर्याप्त छलफल चलाए पनि कुनै काम हुन सकेन।

त्यतिबेलाको समस्याबारे कसैले चासो नदिँदाको परिणाम हो– गत शुक्रबार अन्नपूर्ण आधारशिविर ९एबिसी० पदमार्गमा आएको हिमपात र क्षति। हिमपहिरोमा परेका चार कोरियाली र तीन नेपाली गरी सात पदयात्री अझै सम्पर्कविहीन छन्। अधिक हिमपात भएको र हिउँ पर्न नरोकिएकाले तत्काल उनीहरूलाई फेला पार्न कठिनाइ रहेको पदयात्रा व्यावसायीले बताएका छन्।

प्राकृतिक रूपमा उत्पन्न यस्ता घटनाका कारकबारे जानकार हुँदाहुँदै समस्या समाधानका चासो नदिइएकोबारे पर्यटन व्यावसायी भन्छन्, ‘सरकारले पदयात्रा क्षेत्रमा भरपर्दो सूचना दिने संयन्त्र विस्तारमा बेवास्ता ग(यो। अलर्ट सिस्टम राख्न कतैबाट पहल भएन।’ विपद्को अग्रिम सूचना दिने साइरनजस्ता प्रविधि जडानमा चासो दिइएन। हिमाली क्षेत्रको मौसमबारे अग्रिम रूपमा उपलब्ध गराउन सरकार चुक्दा यस्ता समस्या दोहोरिइरहेका छन्।

पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएनस अफ नेपाल ९टान० पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेल सरकारले पदयात्रा क्षेत्रमा भरपर्दो सूचना दिने संयन्त्र राख्न पुरै बेवास्ता गर्दा यस्ता समस्या आउने गरेको बताउँछन्। ‘नेपालका साहसिक पदमार्गको भौगोलिक क्षेत्र जोखिमपूर्ण छ भन्ने सरकारलाई थाहा छ,’ भुजेलले भने, ‘तर ती क्षेत्रमा आवश्यक सूचना दिने संयन्त्र राख्न चासो नै दिएन। समस्या पहिचान हुँदाहुँदै पनि सम्बन्धित निकायले कहिल्यै पहल गरेनन्। अरू त परै जाओस्, पदयात्रा क्षेत्रमा मोबाइल सेवासमेत सहज छैन।’

उपयुक्त मौसमी विवरणबारे पनि अग्रिम रूपमा जानकारी नपाउने गरेको उनले बताए। ‘मौसमी विवरणमा पहिलेभन्दा केही छिटो जानकारी त आउने गरेको छ। तर पदयात्रामा गइसकेका पर्यटकलाई फिर्ता बोलाउन सक्ने अवस्था रहन्न,’ उनले भने, ‘गन्तव्यमा पुगिसकेको अवस्थामा पनि समस्या आउने गरेको छ। गन्तव्यमा पुगेर फर्किने बेलामा पनि जोखिममा पर्ने गरेका छन्। अन्नपूर्ण क्षेत्रमा गत शुक्रबार गन्तव्यमा पुगेर फर्किंदै गर्दा पर्यटक अप्ठेरोमा पर्यटक परेका हुन्।’ नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्