Logo

नेपाल एयरलाइन्स फागुन १९ देखि नारिता उड्ने,यस्तो छ दुइतर्फी भाडा



काठमाडौं, माघ ७ । नेपाल वायुसेवा निगमले आगामी फागुन १९ देखि जापानको नारितामा व्यावसायिक उडान भर्ने भएको छ। हाल निगमले जापानको ओसाकामा उडान भर्दै आइरहेको छ। निगमले काठमाडौं–नारिताको दुईतर्फी न्यूनतम भाडा ८० हजार रुपैयाँ तोकेको छ भने बिजनेस क्लासको भाडादर दुई लाख ६ हजार यसअधि नै सार्वजनिक गरिसकेको थियो

निगम प्रवक्ता गणेशबहादुर चन्दले नरिता उडान सुरु भएसँगै ओसाका उडान बन्द हुने जानकारी दिएका छन्। ‘जापानका अन्य गन्तव्यभन्दा नारिता उडान भर्न निगमले सुरुदेखि नै चासो देखाएको थियो,’ उनले भने, ‘अनुमति तथा ग्राउन्ड ह्यान्डलिङको पूर्ण व्यवस्था हुन नसक्दा ओसाका उडान भर्दै आएका थियौं। अब नारिता नै उड्न पाइने भएपछि मार्चदेखि ओसाका उडान रोकिने छ।’

नारितामा नयाँ गन्तव्य विस्तारसँगै सार्वजनिक भएको हवाई भाडा भने विमानको अकुपेन्सी अनुसार मूल्य समयसापेक्ष परिवर्तन हुँदै जाने पनि उनको भनाइ छ। ‘सार्वजनिक मूल्य न्यूनतम मूल्य हो, पछि बढ्दै जान सक्छ,’ उनले भने। चन्दका अनुसार निगमको विमान सोमबार, बुधबार र शुक्रबार गरेर साताको तीन दिन नारिता उड्ने छ। उक्त गन्तव्यमा उडानका लागि आवश्यक सबै प्रक्रिया पूरा भइसकेको जनाउँदै ग्राउन्ड ह्यान्डलिङको जिम्माका लागि पनि सम्झौता भइसकेको निगम स्रोतले जानकारी दिएको छ।

नारिता उडानका लागि जापान सिभिल एभिएसन ब्युरोसँग ग्राउन्ड ह्यान्डलिङको सम्झौता भएपछि नारिता उड्ने मिति सार्वजनिक भएको हो। ‘निगमले सुरुबाटै नारिता उडान भर्न चाहे पनि अनुमति नपाएका कारण हालसम्म ओसाका उडान भर्दै आइरहेको छ,’ चन्दले भने। जापानकोे राजधानी टोकियोबाट नजिक मानिएको नारितामा उडान भरेसँगै धेरै नेपालीलाई त्यहाँबाट नेपाल आउजाउ गर्न सहज हुने अपेक्षा गरिएको छ।

नेपाल भ्रमण वर्ष २०२० अन्तर्गत जापानबाट नेपाल आउने र नेपाल आएका पर्यटकलाई समेत नारिता उडानबाट सजिलो हुने भएकाले उक्त गन्तव्यबाट उल्लेख्य पर्यटक नेपाल भित्र्याउन सहयोग पुग्ने उनको भनाइ छ। ओसोकाबाट निगमले अपेक्षा गरे अनुसार आयआर्जन गर्न नसकेको अवस्थामा नारिता उडान सुरु भएपछि व्यापारमा वृद्धि आउने अपेक्षा गरिएको छ। गत मंसिरमा मात्रै निगमले नारिता उडान सञ्चालनका लागि ग्राउण्ड ह्याण्डलिङ, इन्धन र स्लट सेवाको सहमति समेत गरिसकेको जनाएको थियो।

निगमले जापान सिभिल एभिएसन ब्युरो ९जेक्याब० अन्तर्गतकै ग्राउन्ड ह्यान्डलिङ सेवा प्रदान गर्ने संस्थासँग सहमति गरिएको जनाएको थियो। वाइड बडी नेपाल भिœयाएको एक वर्षपछि गत भदौ १२ गते ओसाकास्थित कन्साई इन्टरनेसनल विमानस्थलमा निगमको दुई सय ७४ सिट क्षमताको वाइड बडी ए–३३०–२०० जहाजले पहिलो उडान भरेको थियो। ओसाका उडान सुरु गरेको पाँच दिनमै यात्रु संख्या कम भएको भन्दै निगमले उडान तालिका एक दिन घटाएको थियो। ५०–६० यात्रुमात्रै हुने भएपछि निगमले सातामा दुई उडान कायम गरेको थियो।



प्रतिक्रिया दिनुहोस्