Logo

मोदीले भने- यसै वर्ष नेपाल भ्रमणको कार्यक्रम बनाउँदैछु



काठमाडौं, ७ माघ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यसै वर्ष नेपाल भ्रमणमा आउने भएका छन् । आज विराटनगरमा निर्माण भएको नेपाल भारत संयुक्त चेकपोष्ट उद्घाटमा भिडियो कन्फरेन्समार्फत् बोल्दै उनले यसै वर्ष नेपाल भ्रमण गर्ने जानकारी दिएका हुन् ।

‘म यसै वर्ष नेपाल आउने कार्यक्रम बनाउँदैछु,’ मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणको निमन्त्रणा दिएपछि जवाफमा भने, ‘मलाई नेपालको मायाले खिच्दै ल्याइरहेको छ ।’ उनले नेपालीहरुलाई भेट्न आफू आतुर रहेको समेत बताए ।

मोदी पहिलो कार्यकालमा चारपटक नेपाल भ्रमण गरिसकेका छन् । उनी दोस्रो कार्यकालमा नेपाल आएका छैनन् ।

नेपाल भारत सम्बन्धको चर्चा गर्दै उनले दुई देशलाई अनेकौं धागोले जोडेको बताए । छिमेक प्रथमको नीति अनुसार भारत अगाडि बढेको र नेपालको विकास र प्रगतिमा साझेदार बनेर अगाडि बढ्न चाहेको बताए ।

भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना समेत गरे । उनले ओली आफ्नो असल मित्र भएको भन्दै प्रगतिको चाहना राखेको बताए ।

मोदीले अन्नपूर्ण क्षेत्रमा हिमपहिरोले मानिसहरु हराईरहेकोमा दुःख व्यक्त गर्दै उनीहरु सकुशल फेला परुन् भनी कामना समेत गरे ।



प्रतिक्रिया दिनुहोस्