Logo

अग्नि सापकोटा सभामुखमा निर्विरोध निर्वाचित हुने



काठमाडौं, ७ माघ । सभामुखमा अहिलेसम्म अग्निप्रसाद सापकोटाको मात्र उम्मेदवारी दर्ता भएको छ । तर, अहिलेसम्म उनीबाहेकका प्रतिनिधिसभा सदस्यले उम्मेदवारी दिएका छैनन् । आज दिउँसो दुई बजेसम्म उम्मेदवारी दर्ताको समय राखिएकोमा नेपाली काँग्रेसले उम्मेदवारी नदिने भएपछि सापकोटाको निर्विरोध निर्वाचित हुने सम्भावना बढेको छ ।

सापकोटाले उम्मेदवारी दर्ता गरेपछि नेपाली काँग्रेसले उम्मेदवारी नदिने निर्णय गरेको छ । सापकोटाको मात्र उम्मेदवारी दर्ता भएपछि १२ माघको ३ बजे प्रतिनिधिसभा बैठकमा उनको उम्मेदवारी दर्ता भएको जेष्ठ सदस्यले पढेर सुनाउनेछन् । त्यसपछि उनी निर्विरोध निर्वाचित भएको घोषणा हुनेछ ।

सापकोटालाई ५ माघमा नेकपाले उम्मेदवार बनाउने निर्णय गरेको थियो । करिब एक महिनाको रस्साकस्सीपछि सापकोटाको नाममा नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड सहमत भएका थिए ।

सापकोटाकाविरुद्ध काँग्रेसले पुष्पा भुषाललाई उम्मेदवार बनाउने चर्चा चलेपछि कसैलाई उम्मेदवार नबनाउने निर्णयमा पुग्यो । संसदमा नेकपाको बहुमत भएकाले सापकोटा जित्ने निश्चित नै थियो ।



प्रतिक्रिया दिनुहोस्