Logo

राजीनामा बुझाएर मदन खरेल विदेश भागेपछि…



काठमाडौं, ७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई झुक्याएर नेपाल वायुसेवा निगममा राजनीतिक नियुक्ति पाएका कार्यकारी अध्यक्ष मदन खरेलले अस्ति आइतबार पर्यटनमन्त्री योगेश भट्टराईलाई राजीनामा बुझाएर आइतबार राति ११ बजे नै क्याथे प्यासिफिक एयरलाइन्सको उडान नं. केए–१०३ बाट हङकङ हुँदै श्रीमतीसहित अष्ट्रेलिया भाग्न सफल भएका छन् ।

झापा घर भएको नाता प्रधानमन्त्रीसँग जोडेर कार्यकारी अध्यक्ष बनेका खरेलले नेपाल भ्रमण वर्ष सन् २०२० लाई असफल बनाएर बीचमै राजीनामा दिएर भाग्छन् भन्ने खुलासा वितमा नै गरिएको थियो । खरेललाई निगम सुधार्ने भन्दा पनि निगमलाई डुबाएर विदेशी एयरलाइन्स पोस्ने नियतले एउटा गिरोहले निगमको कार्यकारी अध्यक्षमा पु¥याएको थियो । जुन कुरा उनको पन्ध्र महिने कार्यकालले पुष्टि गरेको छ ।

निगमको कार्यकारी अध्यक्षबाट राजीनामा दिनु दुई हप्ता अगाडि मात्र खरेलले दोहाको फाद ट्राभल, दिल्लीको बड ट्राभललाई बिना प्रतिस्पर्धा निगमको जीएसए नियुक्त गरेर करोडौं कमिशन खाएको आरोप छ ।

कार्यकारी अध्यक्ष हुनासाथ खरेलको प्रमुख जिम्मेवारी दुईवटा वाइडबडी र दुईवटा न्यारोबडी जहाजको व्यापार विस्तार गरेर कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषको ऋण तिर्नुपर्ने थियो । तर, खरेल नियुक्त हुनासाथ उनले श्वेतपत्र जारी गरेर सरकारले २० अर्ब नदिएसम्म ऋण तिर्न सक्दिनँ भनेर पत्रकार सम्मेलन गरेका थिए । यसबाट उनको नियत स्पष्ट हुन्छ ।

त्यति मात्र होइन, उनले इञ्जिनियरिङ विभागमा राजेश श्रेष्ठलाई ल्याएर एपियुलगायत अन्य मर्मतसम्भारबाट करोडौँ रुपैयाँ कमिशन असुले भने दीपु ज्वारचनलाई अप्रेशन विभागको प्रमुख बनाएर ओशाका, मलेशिया, दुबई र दोहाको होटलबाट करोडौँ कमिशन असुल्ने धन्दालाई निरन्तरता दिए । ती गन्तव्यमा जहाज ‘नाइटस्टप’ बस्नुपर्ने भएकोले पाइलट क्रुलाई होटलमा राख्नुपर्ने हुन्छ । त्यति मात्र होइन, चारवटा एयरबस सञ्चालन गर्न केही विदेशी पाइलटहरु महंगो दरमा नियुक्त गरे । विदेशी पाइलटको तुलनामा नेपाली पाइलटलाई कम तलब सुविधा दिएपछि २८ जना नेपाली पाइलट सामूहिक राजीनामा दिने निष्कर्षमा पुगे । भनिन्छ, विदेशी पाइलटको तलब सुविधामा समेत खरेलले ‘पाकेट मार्ने’ काम गर्थे ।

त्यसैगरी सामान्य सेवा विभाग अर्को मालदार विभाग हो । त्यस विभागमा नौ तहको कर्मचारी हुँदाहुँदै खरेलले आठ तहको अमृतमान श्रेष्ठलाई नियुक्त गरेर कमिशन खानकै लागि १५ वटा नयाँ गाडी खरिद गरे । जुन निगमको आवश्यकता नै थिएन । नयाँ गाडी किन्नुको सट्टा त्यो रकम सञ्चयकोषको ऋण तिरेको भए कमसेकम किस्ता घट्ने थियो । यसैगरी कमर्सिल डाइरेक्टरमा टंकनिधि दाहाललाई नियुक्त गरेर टिकट बुकिङ सिस्टमको ठेक्का सेभर भन्ने कम्पनीलाई दिइयो । यसमा पनि करोडौँ कमिशन खाएको आरोप त्यहीकै कर्मचारीले लगाएका छन् ।

निगमको वार्षिकोत्सवमा प्रधानमन्त्री ओली निगम व्यवस्थापनसँग निकै आक्रोशित बने । प्रधानमन्त्रीले जापानको नारिता उडाउन आदेश दिए । तर, अहिलेसम्म जेक्याबले नारिताको उडान अनुमति निगमलाई दिएको छैन । उल्टै नेपाल भ्रमण वर्ष २०२० लाई असफल पार्न ओशाका उडान मार्चदेखि बन्द गर्ने भनिएको छ ।

जहाजविहीन निगमलाई नयाँ जहाज ल्याएर निगमलाई सम्पन्नताको शिखरमा पु¥याउने उद्देश्यले तत्कालीन महाप्रबन्धक सुगतरत्न कंशाकारले २०६५ कात्तिक २२ गते विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा निगमलाई पु¥याउन चारवटा वाइडबडी र दुईवटा न्यारोबडी जहाज किन्ने साहसिक निर्णय गरेका थिए । त्यसैगरी आन्तरिक उडानलाई सुदृढ गर्न दुई वटा एटिआर जहाज किन्ने तयारी पनि कंशाकारले गरेका थिए । तर, दुर्भाग्य यो निर्णय गर्दा उनी अख्तियारको हिरासतमा पुग्नुप¥यो । अदालतबाट सफाइ पाएर दोस्रोपटक महाप्रबन्धकमा नियुक्त भएपछि जागिरबाटै अवकाशमा पर्नुप¥यो । आफ्नो योजनाअनुसार कंशाकारले निगम हाँक्न पाएनन् । चारैतिरबाट हतोत्साही बनाउने काम भयो ।-दृष्टि साप्ताहिकबाट



प्रतिक्रिया दिनुहोस्