Logo

प्रदेश लेखा एकाइ कार्यालय सञ्चालनमा



भद्रपुर, ७ माघ : आन्तरिक लेखापरीक्षणलाई थप व्यवस्थित गर्ने उद्देश्यले प्रदेश नम्बर १ सरकारले झापामा प्रदेश लेखा एकाइ कार्यालय स्थापना गरेको छ । चन्द्रगढीमा स्थापना भएको सो कार्यालयको आज प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले उद्घाटन गरे ।

झापामा १७ वटा प्रदेश सरकारको कार्यालय र जिल्लाका १५ स्थानीय तहलाई प्रदेश सरकारबाट प्राप्त हुने अनुदान रकमसमेत प्रदान गर्न कार्यालयलाई जिम्मेवारी दिइएको छ । प्रदेश सरकारले बनाएको आर्थिक कार्यविधि नियमावलीमा १३ वटै जिल्लामा प्रदेश एकाइ कार्यालय स्थापना गर्ने उल्लेख छ । झापा, पाँचथर, उदयपुर, धनकुटा र ओखलढुङ्गामा यही माघ २ गतेदेखि कार्यालय सञ्चालन गरिएको उनले जनकारी दिए ।

“सामाजिक सेवामा रोजगारी सिर्जना गर्नेभन्दा पूर्वाधार निर्माणमा सरकारले ठूलो लगानी गरेको छ’, मन्त्री आङ्बोले भने, “यसैले भोलि नयाँ रोजगारी सिर्जना र सामाजिक सेवाको वातावरण तयार गर्छ ।”

कार्यक्रममा प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख डम्बरबहादुर कार्की, जिल्ला समन्वय समितिका संयोजक सोमनाथ पोर्तेल, प्रदेश सांसद पूर्णसिंह राजवंशी, भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरलगायतले वित्तीय सुशासन कायम गर्न कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।रासस



प्रतिक्रिया दिनुहोस्