Logo

जापानमा नेपाली कामदार : पहिलो चरण परीक्षामा सिमित, दोस्रो परीक्षाको तयारी



माघ ७, काठमाण्डौ । जापानले दोस्रो चरणमा नेपाली कामदार लैजाने तयारी गरेको छ । यसको लागि जनवरी र मार्चमा आवेदन खुलाउने तयारी गरेको छ । पहिलो पटक आवेदन खुलाए पनि जापान भने लगिएको छैन ।

सुरक्षित र राम्रो कमाइ गर्ने श्रम बजार हुने विश्वासमा गत चैतमा नेपाल र जापानबीच कामदार लैजानेसम्बन्धी समझदारी भएपछि जापान सरकारले दोस्रो आवेदन खुलाउने तयारी गरेको हो । गत अक्टोबरमा नर्सिङ केअरगिभरका एक हजार जनाको लागि आवेदन खुल्ला गरेको थियो ।

नर्सिङ केअरगिभरका लागि एक हजार जनालाई मात्रै परीक्षामा सहभागी बनाइएपछि देखिएको नेपाली पक्षको असन्तुष्टि २०२० मा सम्बोधन गरिने वचन जापानी पक्षले दिएको थियो ।

जापानसँग नर्सिङ केअरगिभरसहित १४ वटा क्षेत्रमा नेपाली कामदार लैजान सकिने समझदारी छ । नेपाल र जापान सरकारबिच सम्झौता भैईसकेपछि नेपालबाट जापान कामदार लान सुरु भएको हो ।

जापान लाने संख्याको आधारमा भाषा र सीप परीक्षा लिन सुरु गरिएको हो । जापानले दुई हजारभन्दा बढी नेपाली कामदार लैजान जनवरीबाट छनोट प्रक्रिया सुरु गर्ने भएको छ । अक्टोबर एक हजार जनाको लागि आवेदन खुल्ला गरेको थियो । जसमा ५६ जनाले भाषा पास गरेका छन् ।

सीप सम्बन्धी परीक्षा भने कतिले गरे भन्ने विवरण आउन बाकीँ रहेको वैदेशिक रोजगार विभागको भनाई छ । जापानी सरकारका तर्फबाट जापान फाउन्डेसनले जनवरीमा १ हजार र आगामी मार्चमा १ हजार ३ सय नेपाली कामदार लैजान छनोट प्रक्रिया सुरु गर्न लागेको हो ।

यसैविच फाउन्डेसनले अर्काे सूचना जारी गरी कामदार छनोटका लागि परीक्षा तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार फाउन्डेसनले पहिलो चरणमा एक हजार कामदार छनोट गर्न जनवरी ७ – ८, १४–१६, २१–२३, २८–२९ तारिखमा भाषा परीक्षा लिने वैदेशिक रोजगार विभागका निर्देशन भोलानाथ गुरागाईले जानकारी दिए ।

दोस्रो चरणमा १ हजार ३ सय कादार छनोट गर्नआगामी मार्च ३–५, ९–१२ र १५–१९ तारिखमा भाषा परीक्षा लिइने सूचनामा उल्लेख छ । फाउन्डेसनले परीक्षा शुल्क २५ सय रुपैयाँ तोकेको छ । फाउन्डेसनले कम्प्युटरमा आधारित प्रणालीबाट लिखित, सीप परीक्षणलगायत परीक्षा लिनेछ। परीक्षार्थीले साधारण बोलीचाली तथा प्रस्तुति, जापानी भाषा सुनाइ र पढाइमा उत्तीर्ण हुनुपर्ने मापदण्ड रहेको निर्देशक गुरागाई बताउँछन् ।

दैनिक जीवनमा आइपर्ने कामका लागि जापानी भाषा सहजै बुझ्ने, बोल्ने र लेख्न सक्ने तथा आफ्नो र वरिपरिको परिस्थितिबारे जापानी भाषामा अभिव्यक्त गर्न सक्ने हुनुपर्ने सूचनामा उल्लेख छ । २ सय ५० पूर्णांकको परीक्षामा उत्तीर्ण हुन न्यूनतम २ सय अंक ल्याउनुपर्छ ।

नेपाली नागरिकता, राहदानी वा सवारी चालक परिचयपत्र पेस गरेर भाषा परीक्षामा सहभागी हुन सकिने सूचनामा जारी गरिएको छ । फाउन्डेसनले डिल्लीबजारस्थित युनिभर्सल ल्याङ्वेज एन्ड कम्प्युटर इन्स्टिच्युटमा परीक्षा सञ्चालन गरिने हुने भएको छ । जापानले अघिल्लो वर्षदेखि विभिन्न १४ क्षेत्रमा विदेशी कामदार ल्याउने नीति लागू गरेको छ । जापानले पाँच वर्षमा ११ देशबाट साढे तीन लाख विदेशी कामदार आफ्नो देशमा भित्र्याउने लक्ष्य राखेको छ ।



प्रतिक्रिया दिनुहोस्