Logo

सभामुखमा अग्नि निर्विरोध, उपसभामुखमा कसले बाजी मार्ला ?



माघ ७, काठमाण्डौ । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको सभामुख पदमा नेकपाका नेता अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी परेको छ । एकल उम्मेदवारी परेसगै उनी निर्विरोध सभामुखमा निर्वाचित हुने भएका छन् । औपचारिक घोषणा भने १२ गते हुने छ । सभामुख पद नेकपाले लिएपछि उपसभामुख पद पाउनका लागि अन्य दलहरु दौडधुपमा छन् ।

तत्कालिन सभामुख कृष्णबहादुर महराले संसद सचिवालयमा कार्यरत महिलामाथि बलात्कार प्रयासको आरोप लागेपछि पदबाट असोजमा राजीनामा गरेका थिए । झण्डै चार महिना सभामुख विहिन बनेको प्रतिनिधिसभाले आगामी १२ गते नयाँ सभामुख पाउनेछ । सत्तारुढ दल नेकपाले सभामुखमा अग्नी सापकोटालाई अघि सारेपछि निर्वाचन प्रक्रिया सुरु भयो । सापकोटाले मंगलबार नै उम्मेदवारी दर्ता गराए । तर अरु कुनै पनि दलकातर्फबाट सभामुखको उम्मेदवार बनाइएको छैन । जसले गर्दा सापकोटा निर्विरोध सभामुखमा निर्वाचित हुने छन् ।

सापकोटा सभामुख हुने निश्चित भइसकेपछि अन्य दलको आँखा उपसभामुखमा परेको छ । एउटै दलबाट सभामुख र उपसभामुख बन्न नपाउने नियमअनुसार नेकपाले उपसभामुख अरु दललाई दिन बाध्य हुनेछ । उपसभामुख पाउने आशामा अन्य राष्ट्रिय दलहरु नेपाली कांग्रेस, समाजवादी पार्टी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीले सभामुखमा सापकोटालाई समर्थन गरेका हुन् । तर संसदमा नेकपाको मत बलियो भएकाले उसले जसलाई दिन चाहन्छ त्यहि दलले उपसभामुख पाउने छ । दोस्रो ठूलो दलको हैसियतले कांग्रेसले उपसभामुख मागिरहेको छ । तर सभामुखमा उम्मेदवारी नदिनुको कारण भने उपसभामुख पाउनका लागि नभएको कांग्रेसको दावी छ ।

उपसभामुखमा राजपाले बाजी मार्ने सम्भावना बलियो देखिएको छ । नेकपाले राजपालाई सरकारमा सहभागि गराउने प्रयास गरिरहेको र राष्ट्रियसभा निर्वाचनमा यही दुई दलबीच तालमेल भएकाले उपसभामुख राजपाले पाउने सम्भावना देखिएको हो । यो अनुमानमा किन पनि बल पुगेको छ भने नेकपाका तर्फबाट सभामुखका उम्मेदवार बनाइएका अग्ति सापकोटाको समर्थकमा नेकपाका वरिष्ठ उपाध्यक्ष लक्ष्मणलाल कर्ण छन् । यति मात्रै नभै राजपालाई त नेकपाले सरकारमै सहभागि गराउने प्रयास गरिरहेको छ । यद्यपी यसबारे दलहरुले सहमति गरिसकेका छैनन् । १२ गते सभामुख निर्वाचित भएको घोषणापछि रिक्त रहेको उपसभामुख पदको निर्वाचन कार्यतालिका अगाडि बढ्नेछ ।



प्रतिक्रिया दिनुहोस्