Logo

हिमपातले डेढ महिनादेखि सडक अवरुद्ध



काठमाडौँ, ८ माघ । लामो हिमपातले कर्णाली करिडोर अन्तर्गत सिमकोट हिल्सा सडक डेढ महिनादेखि अवरुद्ध हुँदै आएको छ । उच्च हिमाली यस क्षेत्रमा बाक्लो हिमपातले सडक सेताम्मे छन् ।

अवरुद्ध यातायात सेवाका कारण स्थानीयवासीको यात्रा कठिन भएको नाम्खा गाउँपालिका वडा नम्बर ५ का स्थानीय लामाक्याप लामाले बताए । नाम्खाबाट जिल्ला सदरमुकाम सिमकोट आई पुग्न दुई दिन पैदल हिँड्नुपर्छ । काम परे हिँडेर जानुको विकल्प नभएकाले कामै नपरोस् भन्ने उनको चाहना छ । चीनको ताक्लाकोटबाट हिल्सा हुँदै सिमकोटसम्म सञ्चालनमा रहेको सडक अवरुद्ध हुँदा उपभोग्य सामानदेखि विकास निर्माणका सामान ढुवानी हुन नसकेको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले बताए ।

हुम्लामा गत मङ्सिर १२ गतेबाट हिमपात सुरु भएको थियो । यो क्रम पटक पटक जारी रहँदै आएको छ । यस सडकमा टिपर, बोलेरो र ट्याक्टर चल्ने गरेका थिए । ९५ किलोमिटर दूरी रहेको यो सडकमा सबै किसिमका गरी छ दर्जनभन्दा बढी यातायातका साधन गुड्दै आएका थिए । सवारी साधन अहिले गाउँमै थन्किएका छन् । सडक खण्डको उच्च क्षेत्रमा चारदेखि पाँच फिट हिउँ जमेको बताएको छ । भारी हिमपात पन्छाएर गाडी गुडाउन सकिने अवस्था नभएको चालकले बताएका छन् ।
सडकको स्तरोन्नतिका लागि दस स्थानमा काम भइरहेको थियो । अहिले यो पनि बन्द भएको सिमकोट हिल्सा सडक आयोजनाका योजना प्रमुख शशाङ्क मिश्रले बताए ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्