Logo

चालकले मदिरा पिएका थिए



मुरारी अधिकारी, धादिङ । धादिङ जिल्ला नीलकण्ठ नगरपालिका वडा नं ८ मैदीभञ्ज्याङमा ढोला मण्डली माइको मन्दिरबाट फर्किएका यात्रु चढेको आइचर गाडी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेको छ । मृत्यु हुनेमा तीन जनाको घटनास्थल र चार जनाको अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा मृत्यु हुनेहरुमा नीलकण्ठ २ भुलभुलेका बिदुर गुरुङ, ध्वज ब गुरुङ, सुनिल भनिने तिलक बहादुर गुरुङ, पूर्णमान श्रेष्ठ, प्रेम बहादुर गुरुङ, बेल बहादुर गुरुङ र सेते गुरुङ रहेको नीलकण्ठ नगरपालिका वडा नं. २ का वडा अध्यक्ष ध्वज बहादुर गुरुङले जानकारी दिनु भयो । दुर्घटनामा परेर घाइते ३१ जना मध्ये १२ जनालाई नेपाली सेनाको हेलिकप्टेर मार्फत काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख रविन्द्र रेग्मीले जानकारी दिनुभएको छ । घाइते अन्य ७ जनालार्य एम्बुलेन्समार्फत काठमाडौँ लगिएको छ । सो ट्रकमा ४५ भन्दा बढी यात्रु सवार रहेको खुलेको छ ।

ज्वालमुखी गाउँपालीकामा रहेको ढोला मण्डलीबाट नीलकण्ठ नगरपालीका २ भुलभुलेका स्थानीय हरुले रिजर्फ गरी लगेको ग १ ख ८०१२ नम्वरको आईचर ट्रक मन्दिरबाट फर्कने क्रममा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो ।
मंगलवार पूजा लाग्ने मण्डली माईको पूजा सकेर फर्केकाहरु नीलकण्ठ नगरपालीकास्थित मैदीभञ्ज्याङ्गमा गाडी अनियन्त्रित भइ भित्तामा ढोक्किन पुगेको प्रतक्षदर्शी विजय अधिकारीले बताउनु भएको छ । चालकको लापरवाहीका कारण सवारी दुर्घटना भएको हुन सक्ने अनुमान घाइतेहरु बताउँछन् ।
दुर्घटनामा परी मृत्यु भएकाहरुको सनाखत हुन बाँकी रहेको छ ।

चालकको लापरबाही दुर्घटना भयोः घाइते
गाडीका चालकले अत्याधिक मदिरा सेवन गरेका थिए । अगिल्लोदिन पनि उसले निकै रक्सी खाएर गाडी खाल्टे लगेको थियो । मण्डलीमा पनि उसले अरुसँगै रक्सी खायो । गाडी सुरुदेखि नै स्पिड थियो । जब पिच रोडमा आइपुग्यो गाडीको गति झनै अत्याधिक भयो । गाडी जब घुम्तिमा आइपुग्यो तब गाडी कुनामा रहको पर्खालमा ढोक्किन पुग्यो । चालकले गर्दा गाउँ नै सखाप हुने गरी दुर्घटना भयो । गाडीमा सबै भुलभुले गाउँका मानिस र उनीहरुका आफन्त मात्र चढेका थिए ।-गोरखापत्र दैनिकबाट  Photo Source: Murari Adhikari

 



प्रतिक्रिया दिनुहोस्