Logo

हिटर बालेर सुतेकाहरू उठेनन्



काठमाडौँ, ८ माघ । नेपाल घुम्न भारतको केरलाबाट आएको १५ जनाको टोली पोखराबाट हेटौंडा हुँदै रिजर्भ गाडी लिएर सोमबार दामन सिमभन्ज्याङ आइपुगेको थियो । मकवानपुरको थाहा नपा–४ दामनको होटल एभरेस्ट पानोरमामा उनीहरूले १११ देखि ११५ सम्मका चार कोठा बुक गरेका थिए । त्यसै पनि वर्षैभरि चिसो भइरहने दामनको मौसम । सोमबार घाम लागेको थिएन ।

चिसो निकै बढेको थियो । १११ नम्बर कोठामा मंगलबार बिहान ८ बजेसम्म ग्यास हिटर बलिरहेको थियो । कोठाका दुई बेडमा सुतिरहेका आठ जना अचेत पल्टिएका थिए । होटलका कर्मचारीका अनुसार कटेजको कोठाका सबै झ्यालढोका बन्द थिए । ‘उनीहरू सबै अचेत देखेर हामी सबै आत्तियौं । उनीहरूकै साथीहरूले घचघच्याउँदै बोलाए तर कोही बोलेनन्,’ होटल व्यवस्थापक शिव केसीले भने, ‘त्यसपछि हामीले प्रहरीलाई खबर गर्‍यौं ।’ अचेत अवस्थाका चार बालबालिका र दुई जोडीलाई होटलबाट उपचारार्थ हेलिकप्टरमा काठमाडौंको ह्याम्स अस्पताल पुर्‍याइयो ।

तर, कोही पनि बाँचेनन् । मृत्यु हुनेमा केरलाको तिरुवनन्तपुरमका ३८ वर्षीय प्रवीणकृष्ण नायर, ३५ वर्षीया शारण्य शशि र उनीहरूका सन्तान ९ वर्षीया श्रीभद्र, ७ वर्षीया आर्चा प्रवीण, ५ वर्षीय अभिनव नायर छन् । त्यसैगरी ३४ वर्षीय रञ्जित कुमार टीबी, ३४ वर्षीया इन्द्र लक्ष्मी र उनीहरूका २ वर्षीय छोरा वैष्णवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्