Logo

डा. आशा सिंहलाई एआईजीको फुली



काठमाडौं, ८ माघ । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले एआइजीमा बढुवा भएकी डा. आशा सिंहलाई दज्र्यान्ही चिन्हद्वारा सुशोभन गरेका छन् । उनले आज नेपाल सरकार, गृह मन्त्रालय मन्त्रिपरिषदको माघ ६ गतेको निर्णय अनुसार प्राविधिक प्रहरी नायव महानिरीक्षकबाट प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नती भएकी डा.आशा सिंहलाई प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।

कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले पदोन्नती भएकी सिंहलाई बधाई तथा शुभकामना दिँदै नेपाल प्रहरी अस्पताल सबैको भरोसाको केन्द्र र संगठनकै महत्वपूर्ण विभाग भएकोले अस्पतालको व्यवस्थापन लगायत अस्पतालको स्तरोन्नतीका लागि अग्रसर हुनु पर्ने बताए ।

नेपाल प्रहरी अस्पतालले प्रदान गर्ने सेवा, व्यवहार, भौतिक संरचना लगायतमा उल्लेख्य सकारात्मक परिवर्तन भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले नेपाल सरकार तथा संगठनले लिएको लक्ष्य र प्राथमिकता कार्यान्वयन गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए । अस्पताललाई थप सुविधा सम्पन्न बनाउँदै अस्पतालमा कार्यरत कर्मचारीहरुको क्षमता वृद्धिमा समेत संगठन सदैव क्रियाशिल रहेको बताउँदै व्यवसायिकता, कार्यप्रतिको निष्ठा र सामुहिक भावना सहित अघि बढेमा सफलता प्राप्त हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा पदोन्नती भएकी प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा। सिंहले त्रुटी रहित ढंगले सुम्पिएको जिम्मेवारी कुशलता पूर्वक सम्पन्न गर्न आफू तल्लिन हुने प्रतिवद्धता व्यक्त गरिन् । गुणस्तरिय स्वास्थ्य सेवा प्रवाह र पेशागत क्षमतालाई अभिवृद्धि गर्न सरोकारवाला निकायहरुसँग समन्वय गर्ने उल्लेख गर्दै उनले नेपाल प्रहरी अस्पताललाई सबैको भरपर्दो साथीको रुपमा विकास गर्ने बताएकी छिन् ।
डा सिंहको बढुवा सिफारिसविरुद्ध अस्प्तालका सिनियर डिआईजी मिनराज पाठकले उजुरी गरेका थिए । तर, उजुरी सुन्ने समितिले उनकै नाम सदर गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्