Logo

प्रचण्डसँग बादल असन्तुष्ट



काठमाडौं, ८ माघ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री समेत रहेका नेकपा सचिवालय सदस्य रामबहादुर थापा बादलबीच दूरी बढेको छ । सभामुख चयनका विषयमा दुई नेताबीच दूरी बढेको हो ।

प्रचण्डले बादललाई गृहमन्त्रीबाट हटाउन खोजेको बारम्बार चर्चा चल्दै आएको छ । पछिल्लो समय अवसरहरु सबै पूर्व माओवादीमा प्रचण्डले निकटस्थलाई मात्र दिएको विषय उठेको छ । मोहन वैद्य किरणबाट अलग भएर बादल समूहबाट आएकाहरुले अवसर नपाएको भन्दै असन्तुष्टि बढेको हो । प्रचण्डले बादलबाहेक कसैलाई पनि उनको समूहबाट मन्त्री बनाएका छैन् । यसबाट बादल झन् झन् रुष्ट बन्दै गएका छन् ।

सभामुखमा अग्नि सापकोटालाई अवसर दिएपछि बादल असन्तुष्ट छन् । उनले पम्फा भुषाल या देव गुरुङमध्येबाट बनाउने चाहना राखेका थिए । जुझारु र लामो राजनीतिक अनुभव सँगालेकी भुषाललाई बनाउन बादलको जोड थियो । गुरुङ पनि परिपक्व नेता मानिन्छन् । तर, दुवैको नाममा प्रचण्ड सकारात्मक भएनन् । पम्फा भुषाललाई सभामुख बनाउन माधवकुमार नेपाल र झलनाथ खनाल पनि सकारात्मक भएको बुझिएको छ । तर, प्रचण्ड सकारात्मक भएनन् ।

यसैगरी, चितवनको एसपीमा गंगा पन्तलाई लान खोज्दा प्रचण्डले रोकेको चर्चा छ । यसबाट पनि बादल असन्तुष्ट छन् । आफ्नो निर्णय उल्टाउन खोजेको भन्दै बादल खुशी छैनन् ।-बुधबार साप्ताहिकबाट 



प्रतिक्रिया दिनुहोस्