Logo

सन्तान दिने सन्तानेश्वर महादेव मन्दिर



गोदावरी नगरपालिका वडा नं. १३ झरुवारासी कैलास पर्वतमा सन्तानेश्वर महादेवको मन्दिर रहेको छ । मन्दिर लगनखेलवाट करीव ७ किलोमिटर दक्षिण पूर्व दिशामा पर्दछ । मन्दिरको फेदीसम्म त्यो स्थान समुन्द्री सतहबाट १५०७ मीटरको उचाईमा रहेको छ । रमणीय प्राकृतिक वातावरणले सजिएको यस कैलाश पर्वतको शिखरमा पुग्न फेदीबाट ३६६ वटा सिँढी पार गर्दै करीब १०० मीटर उकालो चढ्नु पर्छ ।

मन्दिरभित्र एउटा सानो मन्दिर पनि रहेको छ । सानो मन्दिरको गर्भगृहमा सन्तानेश्वर महादेवको शिलास्वरुप रहेको छ । त्यस शिला तीन भागमा विभाजित छ । पहिलो सन्तानेश्वर महादेव, दोस्रो पार्वती र तेस्रो शिलालाई गणेश मानी पूजा गरिन्छ । बाहिर अर्को दुई शिला दायाँ–वायाँ रहेका छन् । शिलाहरुलाई नन्दी र भृङ्गी मानिएको छ । मन्दिरमा अर्को शिला पनि रहेको छ जसलाईवासुकी नागको रुपमा पूजा गरिन्छ ।

धार्मिक ग्रन्थ अनुसार सतीदेवीको अंग पतनबाट पीठ उत्पत्ति हुने क्रममा नेपालको ॐकारेश्वरमा पुग्दा सतीदेवीको उपल्लो ओठ पतन भएको धार्मिक मान्यता रहेको छ । ॐकार पीठ, मातृकादेवी, पुर्णोदरी योगीनी, श्री सन्तानेश्वर महादेव उत्पत्ति भएको मानिन्छ ।
पौराणिककालमा बाह्रैवटै राशीहरु यस स्थानमा झरी शिवजीको तपस्या आराधना गरेको हुनाले यस स्थानको नाम झरुवारासी रहेको भन्ने जनविश्वास छ ।
पौराणिक किंबदन्ती अनुसार द्वापरयुगमा श्रीकृष्णले सन्तान प्राप्तीको लागि यहाँ आएर शिवजीको आराधना गरेपश्चात् प्रत्येक पत्नीहरुबाट दश छोरा र एक छोरी प्राप्त भएका थिए ।

महादेवको मन्दिरमा पुजा आराधना सहितको रुद्राभिषेक गर्नाले निःसन्तान दम्पतीहरुलाई सन्तान प्राप्त हुने, भविष्य उज्जवल हुने, सुयोग्य जीवनसाथी प्राप्त हुने आदि मनोकाङ्क्षा पूर्ण हुने जनविश्वास रहेको पाइन्छ ।

सन्तानेश्वर मन्दिरमा बिबाह, ब्रतबन्ध तथा उत्सव पर्दा प्राचीनकालमा आवश्यक भाँडावर्तन प्राप्त हुने किंबदन्ती छ । कैलाश पर्वतको उत्तरपूर्वमा रहेको महाङ्काल मन्दिरको ढुङ्गाको छिद्रमा कान थापेर सुन्दा भाँडावर्तनहरु बजेको आवाज आज पनि सनिने हुँदा यसको प्रमाणस्वरुप रहेको छ ।

कैलाश पर्वत १५० रोपनी क्षेत्रफलमा फैलिएको छ । यस क्षेत्रलाई धार्मिक एवम् प्रर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजनाअनुसार विभिन्न धार्मिकजन्य फलफूल तथा जडीबुटीका बिरुवाहरु वृक्षारोपण गरिएको छ । पर्वतको फेदीबाट उकालो चढ्दै जाँदा केही गाह्रो महसुस भए पनि मन्दिर परिसर पुगेपछि काठमाण्डौ उपत्यकाको रमणीय दृष्य अवलोकन गर्न सकिन्छ ।

-धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्