Logo

राजपा अध्यक्षमण्डलले चोरबाटोबाट निर्णय गरिरहेछ- बृषेशचन्द्र लाल



काठमाडौं, ८ माघ । राष्ट्रिय जनता पार्टीका बरिष्ठ उपाध्यक्ष बृषेशचन्द्र लाल पार्टीको पछिल्लो निर्णयप्रति निकै असन्तुष्ट छन् । उनले राष्ट्रियसभा सांसदका उम्मेदवार चयन गर्दा नेतृत्वको आलोचना गरे । उनीसँग यसै विषयमा ऋषि धमलाले गरेको कुराकानीः

राष्ट्रियसभाको निर्वाचन भोलि होइन ?
भोलि हो ।

यो निर्वाचनमा कसले बाजी मार्दैछ, प्रदेश नं. २ मा ?
त्यो त निर्वाचन परिणामपछि मात्रै थाहा हुन्छ । सबैले आ–आफ्नो धर्मको पालना गरिरहेका छन् । यो राष्ट्रियसभा हो । त्यहाँ व्यक्तिहरु योग्य, क्षमतावान हुन् भनेर सबैले सोचविचार गरेरै मतदान गर्नुहुने छ । त्यसैले यसमा अहिले नै अड्कल गर्न सकिँदैन ।

भोटको समिकरण कसको पक्षमा छ ?
दुईवटा ध्रुवीकरण छ । राजपा र नेकपाको गठबन्ध र समाजवादी पार्टी र नेपाली कांग्रेसको गठबन्धन । भोटको समिकरण त राजपा र नेकपाको पक्षमै देखिन्छ ।

राजपाको नेताहरुमा उम्मेदवारी चयनप्रति असहमति छ नि ?

जति पनि राजपामा विवाद देखिएको छ । त्यो राजपाका नेता, कार्यकर्ता र आन्दोलनकारी बीचमा छैन । उनीहरु अर्कै तर्फका छन् । अध्यक्षमण्डलले विवाद सिर्जना गर्दछ । अध्यक्षमण्डल नै राजपाको एजेन्डाभन्दा विपरित अगाडि बढ्ने र राजपाको राजनीतिक शक्तिलाई आफ्नो स्वार्थका निम्ति प्रयोग गर्ने गर्दै आएकाले पार्टीमा विवाद हुँदै आएको ।

शीर्ष नेताहरुबीच विवाद छैन, अध्यक्षमण्डलमा मात्रै हो ?
शीर्ष नेताहरुबीच विवाद छैन । अध्यक्षमण्डलको मुद्दाको विषयमा विवाद छ ।

तपाईंंहरुको मुद्दामा असहमति के हो ?
हाम्रो मुद्दा भनेको राजपाको गठन ६ वटा पार्टीको एकीकरण वा मधेस आन्दोलन, मधेसका एजेन्डाहरुको सम्बोधन, समानता, समावेशीता, सुशासन होस् त्यसको निमित्त भएको हो । हामीले संविधानमा संशोधन पनि त्यही कारणले चाहेको हो । सहिदहरुले त्यसका निमित्त ज्यान दिनुभएको हो । हरेक अवसर खोजेर सरकारमा जाने, फलानो मन्त्री हुने त्यतातिर पार्टीको सोच हुनुभएन, मुद्दातिर हुनुप¥यो भन्ने हो । पार्टीभित्र हाम्रो पनि कुरा सुन्नुहोस् । चोरबाटोबाट आफ्ना स्वार्थका लागि कुनै निर्णय नहोस भन्ने हो । अहिले जसरी अध्यक्षमण्डलले चोरबाटोबाट निर्णय गरिरहेको छ । त्यसप्रति हामीले विमति जनाएको हो ।

तपाईंहरुको विमति त सरकारमा जाने हो भने हामी सल्ला हुनुपर्छ, तर राजेन्द्र महत्वले तसरकारमा जानुको विकल्प छैन भन्नुभयो नि ?

राजेन्द्र महतो पार्टी होइन नि । खोई किन हो, उहाँले पार्टीलाई सरकारमा जाने मेसिन जस्तै प्रयोग गर्दै आउनुभएको छ । राजेन्द्र महतोसँग हाम्रो व्यक्तिगत दुश्मनी होइन, वैचारिक संघर्ष हो । तर अध्यक्षमण्डलको त्यो हिम्मत हुनुपर्छ । आफ्ना कार्यकर्ताहरुको चित्त कसरी बुझाउने । जसले पार्टीलाई संस्थागत रुपमा अगाडि बढाउँदैन भने उसले त्यसको वान्छित परिवर्तन कसरी गर्न सक्छ ।

प्रधानमन्त्रीले राजेन्द्र महत्वलाई मन्त्री बनाउन लागिरहनुभएको छ, तपाईंहरु किन वाधक बन्ने ?
कसैलाई मन्त्री बन्नुछ भने उहाँ मन्त्री बन्नुभए हुन्छ, हाम्रो शुभकामना छ । मन्त्री बन्नमा कुनै विरोध छैन, तर पार्टीलाई त्यसमा घचेट्नु हुँदैन । पार्टी सिद्धान्त र मुद्दामा अडिग भएर बस्छ ।

पार्टी सरकारमा जाने पाक्ष्मा छ कि नजानेमा छ ?
पार्टीका तमाम कार्यकर्ता, आन्दोलनकारीहरु, विचारमा दृढ हुनेहरु जबसम्म हाम्रो एजेन्डाको सम्बोधन हुँदैन । संविधान परिवर्तन, सहिद तथा घाइतेहरुको सम्बोधन हुँदैन, तबसम्म सरकार के अरु कुनै पनि कुृरातिर पार्टीले हेर्नुनै हुँदैन । आफ्नो व्यक्तिगत सम्पत्ति जस्तो गरेर पार्टीलाई प्रयोग गर्ने अधिकार कसैलाई छैन ।

पहिलाको गठबन्धन तोडेर राजपा र नेकपाबीच गठबन्धन गर्ने निर्णय भएको छ नि तपाईंंहरु के गर्नुहुन्छ ?
त्यस्तो गठबन्धन कसैले गरेर हुँदैन । त्यसो भयो भने अराजकता उपन्न हुन्छ । हिजो हामीले राजपा र समाजवादी पार्टीले चुनाव लडेका छौं । त्यसमा जनताले मत दिएका छन् । त्यही जगमा टेकेर घोषणापत्रको आधारमा यस प्रदेशमा हामी सरकार चलाउँछौं । चुनावका बेला भएको दुई पार्टीको गठबन्धन किन हामीले हिजो गरेका वचनबद्धतामा अगाडि बढेर सम्बन्धनलाई अझ बलियो बनाइराखेका छैनौं ? त्यतातिर पार्टीले ध्यान दिनुपर्छ । मधेसका जनताबीचको एकतालाई भाँडेर अराजकता सिर्जना गर्न खोजिरहेका छन् ।

त्यसोभए राजपा प्रदेश नं. २ गठबन्धन फेरबदल गर्न चाहँदैन ?
राजपा सरकारलाई त्यति महत्व दिँदैन । प्रदेश नं. २ मा जुन सरकार छ, त्यो आन्दोलनबाट सिर्जित सरकार हो । त्यहाँ अहिले जसरी सहकार्य चलिरहेको छ, त्यो अझ बलियो होस् भन्ने हाम्रो चाहना हो ।

प्रदेश नं. २ को सरकार परिवर्तन हुँदैन हो ?
यस्तो हल्ला नेतृत्वपंक्तिले होइन । केही व्यक्तिहरुले अराजकता पैmलाउन गरेका हुन् । सरकार परिवर्तन गर्ने, कसलाई मन्त्री बनाउने, कसलाई के बनाउने भनेर पार्टी प्रयोग गर्न खोजिएको छ । हामी त्यसको विरोध गरिरहेका छौं । पार्टीं संस्थागत हिसाबले अगाडि बढ्नुपर्छ । नेतृत्व पंत्तिपनि अनुशासित भएर अगाडि बढ्नुपर्छ । हरेक निर्णय पार्टीको फोरमबाट गर्नुपर्छ ।

उपसभामुखमा तपाईंहरुको दावी छ ?
त्यो संवैधानिक पद हो । त्यसका निमित्त हामी कुनै बार्गेनिङ गर्ने होइन । हाम्रो चाहना सभामुखको सम्मत होस् । सबैको साझा रुपमा भएकै राम्रो हो । त्यसले एउटा राष्ट्रियकताको सन्देश पनि दिन्छ । उपसभामुख पनि सर्वसम्मत होस्, त्यसमा कुनै अनावश्यक प्रतिस्पर्धाको स्थिति पनि छैन । त्यसमा पनि संस्थागत निर्णय हुनुपर्छ अहिलेसम्म कुनै निर्णय भएको छैन ।

सभामुखमा त लक्ष्मणलाल कर्णय समर्थक बसिसक्नुभयो नि ?
त्यो सभामुखको कुरा हो, त्यसमा त हाम्रो समर्थन छ ।

अब सीमाविवादको मुद्दा कसरी टुंगिन्छ ?
कालापानी होस् या अन्य मुद्दा होस् । भारत–नेपालबीच मैत्रीपूर्ण सम्बन्ध छ । यसलाई कसैले तोड्न सक्दैन, तर केही कुराहरु बीचमा उन्पन्न भएका छन् । यो समस्याको समाधानको लागि दुई प्रधानमन्त्रीबीचमा हुन्छ भने खुशीको कुरा हो । उहाँहरुबीच भिडिया कन्फरेन्स भएको कुरा बाहिर आएको छ । हामीले पहिलोदेखि नै भन्दै आएका थियौं, भारतसँग होस् या चीनसँग सबैतिर सीमा विवाद छ । त्यसलाई कुटनैतिक तरिकाले समाधान गर्नुको कुनै विकल्प छैन । ओलीजीको अन्य कुनैको नेतृत्वमा सरकार होस्, त्यो उसको काम हो ।

कालापानीबाट भारतीय सुरक्षा फौज फिर्ता हुनुपर्छ भन्न खोज्नुभएको हो ?
नेपाली भूमिमाथि भएको कुनै अतिक्रमण हट्नुपर्छ । कालापानी हाम्रो भूमि हो । भारतले त पहिलादेखि नै भनेको छ, यसबारेमा छलफल गरौं भनेर । जे वास्तविकता त्यसको पालना गर्न भारत तयार छ, भन्ने संकेत दिइसकेको छ । जुन व्यक्तिहरुले भारत–नेपालबीच भाँजो हाल्ने प्रयास गरे । त्यसले मात्रै समस्या उत्पन्न भएको हो । अहिले जसरी दुई सम्माननीय प्रधानमन्त्रीहरुको सहमति भएको छ, त्यसले राम्रो सन्देश दिन्छ । भारत र चीन दुवैसँग नेपालको सम्बन्ध राम्रो हुनुपर्छ । नेपालको कल्याण पनि त्यसैमा छ । नत्र नेपाल द्वन्द्व भूमरीमा फस्छ ।



प्रतिक्रिया दिनुहोस्