Logo

जसले अमेरिकाका प्रहरीलाई छक्याए



काठमाडौं, ८ माघ । देशका केही ठूला र शक्तिशाली व्यक्तिहरु पक्राउ पर्न थालेपछि पछिल्लो पटक नेतादेखि प्रहरी अधिकारीले भन्न थालेका छन्– अब देशमा पैसा र पावर चल्दैन, सबैलाई कानून हेरेर कारबाही हुन्छ । अझ प्रधानमन्त्री केपी ओलीले त कानूनले पद, पैसा चिन्दैन भनेर भाषण गर्ने गर्छन् । प्रधानमन्त्री ओलीले भाषण चर्का गरे पनि वास्तविकता भने फरक छ । पैसा भएका र सेटिङ मिलाउन सक्नेहरुले सजिलै कानून किन्न सक्छन् ।

त्यसको पुष्टि बहुचर्चित सनम शाक्य तथा ३८ क्विन्टल सुन तस्करी प्रकरणमा अभियुक्त चेतन(चेतनाथ भण्डारी)ले गरेका छन् । बाजेको सेकुवा नामक रेष्टुरेन्टका मालिक रहेका भण्डारीले प्रहरीदेखि न्यायालयसम्म सेटिङ मिलाएर १० लाख रुपैयाँ धरौटीमा छुट्न सफल भएका छन् । गत साता मोरङ जिल्ला अदालतमा उपस्थित भएर उनी छुटेका हुन् ।

यो प्रकरणमा रमाइलो त के छ भने सो प्रकरणमा उनी विदेश भएका बेला अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन(इन्टरपोल)ल रेड नोटिस जारी गरेको थियो । उनको पासपोर्ट नम्बरसहित यस्तो नोटिसमा राखिएको थियो । सबै देशका एयरपोर्टका अध्यागमनसँग त्यो लिष्ट हुने भएकाले एक देशबाट अर्काे देश गएलगत्तै उनी पक्राउ पर्ने अवस्था थियो । नोटिस जारी भएका बेला उनी बाजेको सेकुवाको उद्घाटनमा अमेरिका गएका थिए । तर, अमेरिकामा पक्राउ नपरी उनी नेपाल आएर अदालतमा उपस्थित भए भन्ने धेरैले आश्चर्य मानेका छन् । यसमा प्रहरीकै मिलेमतोको आशंकासमेत गरिएको छ । नत्र अमेरिका जस्तो देशका प्रहरीलाई छक्याएर मात्र यसरी नेपाल आउन सम्भव छैन ।

भण्डारीले गिरोहका नाइके चुडामणि उप्रेती ‘गोरे’ मार्फत् सुन तस्करीमा लगानी गरेका थिए । गोरेलाई उनी मामा भनेर बोलाउँथे । तस्करीका धेरै मिटिङ बाजेको सेकुवामा नै हुने गर्दथ्यो । त्यस हिसाबले उनको त्यसमा प्रमुख संलग्नता थियो । तर, उनी पनि सामान्य धरौटीमा छुटेका छन् । गोरे भने हाल जेलमै छन् ।

सोही अभियोगमा १३ जनाविरुद्ध रेडकर्नर नोटिस जारी भइसकेको छ । जसमध्ये दुई जना दुबईमा पक्राउ परे पनि कृष्णगोपाल अग्रवाल र रमेश उप्रेतीलाई नेपाल ल्याउन सकिएको छैन । सो मुद्दामा भोजराज भण्डारी, सिरहा धनगढीमाई नगरपालिका–१२ का रोहित आचार्य, सोलुखुम्बु दूधकुण्ड गाउँपालिका–८ का टुकबहादुर मगरविरुद्ध, धरान उपमहानगर–२ का कृष्ण बस्नेत, धरान उपमहानगरपालिका–३ का मोहनकुमार अग्रवाल, झापा मेचीनगर नगरपालिका–१३ का मोहम्मद उस्ताम मियाँविरुद्ध ‘रेड नोटिस’ जारी भएकोमा अहिलेसम्म पक्राउ गरिएको छैन । त्यस्तै, फरार अभियुक्तद्वय प्रयास पराजुली र सन्दीप खड्काविरुद्ध ‘डिफ्युजन’ नोटिस जारी भएको छ । प्रहरीले खोजीमा चासो नदिएपछि उनीहरुसमेत सेटिङ मिलाएर उपस्थित हुने प्रयासमा छन् ।-दृष्टि साप्ताहिकबाट



प्रतिक्रिया दिनुहोस्