Logo

‘कर्माले बनाएको ठगलाई हानें, हिजो भेटेको भए कर्मालाई नै हान्थें’



पोखरा, ८ माघ । प्रदेशसभा सांसद दिपक मनाङे भनिने राजीव गुरुङले हिजो भेटेको भए एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई नै झापड हान्ने प्रतिक्रिया दिएका छन् । आज पोखरामा पत्रकार सम्मेलन गरेर कर्माले ठग भएकाले मिलन गुरुङलाई एन्फा कास्की जिल्ला अध्यक्ष बनाएको गम्भीर आरोप लगाए ।

उनले भने, ‘हिजो मैंले भेटेको भए कर्मा छिरिङलाई हान्थें ।’ आफूले हानेको व्यक्ति कर्माले बनाएको ठग अध्यक्ष भएको बताए ठगलाई कुट्दा कुनै पश्चाताप नभएको भन्दै माफी नमाग्ने बताए । एन्फा कास्की जिल्ला अध्यक्ष मिलन गुरुङले प्रहरीमा जाहेरी दिएमा त्यसको सामना गर्ने उनको भनाई थियो । उनले भने, ‘ठगलाई कुट्दा मजा आउँछ, कुट्दा राम्रो लागेको छ ।’

एन्फा जिल्ला अध्यक्ष मिलन गुरुङले गत वर्ष मनकामना केबलकार कपका विजेताहरुलाई पुरस्कार नदिएको आरोप लगाउँदै खेलमा धाँधली गर्ने गरेको बताए ।

यसअघि कास्की जिल्ला अध्यक्ष मिलन गुरुङले आफ्नो ज्यानको सुरक्षा नभएको भन्दै प्रहरीमा किटानी जाहेरी दिने बताएका छन् । उनले पत्रकार सम्मेलन गरेर आफूमाथि सार्वजनिक स्थानमा कुटपिट भएको भन्दै उजूरी दिने बताएका हुन् । उनले भने, ‘मेरो ज्यानको सुरक्षा भएन, प्रहरीमा उजूरी दिन्छु ।’

मुख्यमन्त्री कप फुटबलको व्यवस्थानप्रति असन्तुष्टि जनाउँदै सांसद राजीव गुरुङले एन्फा कास्की जिल्ला अध्यक्ष मिलन गुरुङमाथि हिजो कुटपिट गरेका थिए । उनले गुरुङले जथाभावी तरिकाले प्रतियोगिता गरेको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्