Logo

चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९, नेपालमा त्रास



माघ ८, काठमाण्डौ । चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । चीनको हुबेई प्रान्तको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण चीनका १३ प्रान्तमा फैलिएको छ । अन्य देशमा पनि फैलिन सक्ने चेतावनी दिइएको छ । छिमेकी देश भएका हिसाबले नेपालमा पनि यसको खतरा औँल्याइएको छ ।

पछिल्लो समय चिनमा व्यापक रुपमा फैलिरहेको कोरोना भाइरस कारण ९ जनाको मृत्यु भइसकेको छ । त्यस्तै ४४० जनामा यसको संक्रमण देखिएको छ । कोरोना भाइरस संक्रमणको ‘इपिसेन्टर’ मानिएको हुबेई प्रान्तको वुहान सहरमा पशुबजार र जंगली जनावरमाथि कडा नियमन गर्न पनि स्थानीय प्रशासनलाई निर्देशन दिइएको छ ।

मानिसहरुको बढी आवतजावत हुने विमानस्थल, बसपार्क, रेल्वे स्टेसन, बन्दरगाहहरुमा स्वास्थ्य जाँचका लागि थर्मल बडी स्क्यानर राखिएको छ । चिनबाट नेपालमा दैनिक हजारौँ पर्यटक आउने भएकाले विमानस्थलदेखि नै सुरक्षा सतर्कता अपनाउनुपर्ने देखिन्छ । नेपालमा कोरोना भाइरसले प्रवेश गरिहाल्यो भने त्यसको परीक्षणका लागि पर्याप्त उपकरण र प्रविधि नभएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक वासुदेव पाण्डे बताउँछन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महासाखाले भाइरस फैलिन नदिनका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित हेल्थ डेस्कलाई सञ्चालन गरिएको दावी गरेको छ । जापानको टोकियोमा पनि एक जना व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

दक्षिण कोरियाको राजधानी सोल, ताइवान र मकाउमा पनि एक–एक जनामा यसको संक्रमण भेटिएको छ । त्यस्तै थाइल्याण्डको बैंककमा २ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । विश्व स्वास्थ्य संगठनले नेपालमा पनि यसको उच्च जोखिम रहेको भन्दै सतर्कता अपनाउन चेतावनी दिएको छ । वुहानबाट फर्किएका एक जना नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमणको शंका गरिए पनि त्यसको औपचारिक पुष्टि भएको छैन ।



प्रतिक्रिया दिनुहोस्