Logo

लगानी चालीस हजार, आम्दानी चार लाख



काठमाडौँ, ९ माघ । थोरै लगानीमा च्याउ खेतीबाट राम्रो आम्दानी हुन थालेपछि कैलालीको घोडाघोडी नगरपालिकाअन्तर्गत साँडेपानीका जगत साउदले च्याउको व्यावसायिक खेती गर्न थालेको छ । अछामबाट २०६४ सालमा कैलाली झरेको साउदको सम्पत्तिको नाममा छ धुर ऐलानी जग्गामा बनेको सानो झुपडीबाहेक अरू छैन ।

कमाइ गर्न विदेश जाने रहर पनि उनमा कहिल्यै पलाएन । उनले घर नजिकै रहेको दशरथ माध्यमिक विद्यालयको पाँच कट्ठा जग्गा खेतीपातीका लागि भाडामा लिए । एक/दुई वर्ष खेती गरे तर सुक्खा जमिनले राम्रो उत्पादन नदिएपछि उनले च्याउ खेती गर्ने सोच बनाए । जुन सोचले उनलाई अहिले लखपति बनाउन थालेको छ । २०६८ सालमा छिमेकीको सहयोगमा च्याउ खेती गर्न सिकेको बताउँदै साउदले अरू व्यवसायभन्दा च्याउ खेती व्यवसाय गर्न सजिलो र आम्दानी पनि राम्रो भएको बताए । पहिलापहिला आम्दानीको यकिन विवरण नराखे पनि छोराछोरी पढाउन र घरखर्च चलाउन सहज भएको उनको अनुभव छ । यो वर्ष मात्र उनले ४० हजार लगानीमा च्याउ खेती सुरु गरेको छ ।

सो लगानीबाट उनले चार लाख आम्दानी गरिसकेको बताए । सात जनाको उनको परिवारमा तीन छोरा र दुई छोरी छन् । च्याउ खेतीबाट नै उनले छोरालाई क्याम्पस पढाएको छ भने दुई छोरीलाई फार्मेसी र ल्याब पढाएको छ । १० वर्षसम्मका लागि विद्यालयको जग्गा भाडामा लिएर व्यवसाय सुरु गरेको साउदले यो वर्षदेखि बेमौसमी च्याउ उत्पादन गर्ने सोच बनाएको छ ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्