Logo

धेरै मूल्य पाउने भ्रममा मारिन्छन् किसान मैत्री सालक



काठमाडौं, ९ माघ । विश्वमै एकमात्र खपटायुक्त स्तनधारी जीव सालक अस्तित्वकै खतरामा छ । सालकको खपटा सहित यसको व्यापारमा संलग्नहरू दैनिक जसो पक्राउ पर्न थाले पछि सालकको अस्तित्व खतरामा पर्न सक्ने विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।

धेरैले सालकको खपटाको लाखौं रुपिया मूल्य पर्ने भ्रममा परेर यसको कारोवार गर्ने गरेको र चोरी शिकारीमा संलग्नहरूले पनि राम्रो मूल्य पाउने आशामा सालक मार्ने गरेको छन् तर प्रहरी तथा बन अधिकारीहरू भने त्यसमा सत्यता नभएको बताए ।  एउटा सालकको खपडाको मूल्य नेपाली बजारमा पाँच हजार पनि आउँदैन तर हल्लानै हल्लाको पछि लागेर खतराको सूचीमा रहेको सालक मारेकोमा उनीहरूले पछुतो मान्ने गरेका छन्, तर संरक्षित सालक मारेमा सात बर्षदेखि १५ सम्म कैद तथा एकलाखदेखि पाँच लाखसम्म जरिवाना हुने प्रावधान रहेको छ । डिभिजन वन कार्यालय काठमाडौंका डिभिजनल वन अधिकृत बद्री कार्कीले सालकको खपटा सहित पक्राउ परेका अभियुक्तहरूले धेरै पैसा पाउने आशामा गुणकारी सालक मारेकोमा अभियुक्तले पछुतो मान्ने गरेका छन् । सालक साकाहारी भएको र उसले मानवलाई कुनै पनि क्षति नपु¥याउने जानेपनि राम्रो मूल्य आउने सुनेको भरमा सालक मार्ने गरेको बयान दिने गरेको कार्कीले बताए । सालक जोगाउन यसको गुण तथा खपडाको मोल धेरै नभएको र संकटापन्न रहेको सबैले जानकारी पाउने कार्यक्रम संचालन गर्न आवश्यक रहेको कार्कीले बताए ।

‘राम्रो मूल्य आउँछ रे भनेर लहैलहैका भरमा सालक मार्ने काम भइहेकाले त्यसलाई रोक्न अभियानकै रुपमा कार्यक्रम अघि बढाउने छौ’ डिभिजनल वन अधिकृत कार्कीले भने । नेपाल भरीबाट सालकको खपटा बोकेर काठमाडौ बेच्न आउने समस्याले काठमाडौंमा धेरै सालक मारेको देखिए पनि जिल्ला जिल्लामा जागरण अभियान आवश्यक रहेको उनले बताए ।  नेपालमा २४ प्रकारका वन्यजन्तु संकटापन्न वन्यजन्तुको सूची रहेका छन् । विश्वमा आठ किसिमका सालक पाइने भए पनि नेपालमा दुई प्रजातीको सालक पाईन्छ । नेपालमा पाईने कालो सालक अति संङ्कटापन्न र तामे सालक संङ्कटापन्न अवस्थामा पुगेपछि त्यो जोगाउन वन विभालले सालक जोगाउने अभियाननै संचालन गरेको कार्कीले बताए ।  सालकको खपटा सहित पक्राउ परेकाहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु् ऐन २०२१ अनुसार कारवाही गरिने कार्कीले बताए ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्