Logo

फोटो प्रकाशन गर्नेलाई कानुनी कारबाहीको चेतावनी



टोरोन्टो, माघ ९ । बेलायी राजकुमार ह्यारी र उनकी पत्नी डचिज अफ ससिक्स मेगन मार्कलले आफ्नो फोटो प्रकाशन गर्नेलाई कानुनी कारबाहीको चेतावनी दिएका छन्। क्यानडाका सञ्चारमाध्यममा पूर्वअभिनेत्री मार्कलका फोटो प्रकाशित भएलगत्तै उनीहरूले अनुमति बिना आफ्नो फोटो खिच्ने र प्रकाशन गर्नेविरुद्ध कानुनी कारबाही गर्ने चेतावनी दिएका हुन्।

वकिलहरूका अनुसार पूर्वअभिनेत्री मार्कलले छोरा आर्चीलाई बोकेर कुकुर डोर्‍याउँदै हिँडेको फोटो फोटोग्राफरहरूले लुकेर खिचेका थिए। उनीहरूले अनुमति बिना फोटो खिचेर फोटोग्राफरहरूले दुव्र्यवहार गरेको आरोप लगाउँदै कानुनी कारबाही गर्न तयार रहेको बताएका छन्। क्यानडाको ब्रिटिस कोलम्बिया क्षेत्रमा बसोबास गरिरहेका उनीहरू फोटोग्राफरहरूको भीडबाट आजित भएको अनुमान गरिएको छ।

वकिलहरूका अनुसार पापाराजीको निम्ति लामो दूरीको फोटो खिच्न सक्ने लेन्सको प्रयोग गरी घरभित्रका फोटो खिच्ने प्रयास समेत गरिसकेका छन्। ब्रिटिस कोलम्बियाको कानुन अनुसार उनीहरूले आफ्नो गोपनियता भंग गरेको अभियोगमा मुद्दा दायर गर्न सक्नेछन्। तर क्यानडाली नियमकानुनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार सुनिश्चित गरेको छ। यसअघि पूर्वअभिनेत्री मार्कलले सो क्षेत्रमा छोरा आर्चीलाई बोकेर दुई कुकरसँग हिँडिरहेको फोटो सार्वजनिक भएको थियो।

सन् २०१६ मा राजकुमार ह्यारीले आफ्नी तत्कालीन प्रेमिका मेगनलाई दुव्र्यवहार गरेको भन्दै सञ्चारमाध्यमको आलोचना गरेका थिए। पेरिसमा पापाराजी फोटोग्राफरहरूले मोटरसाइकलमा पछ्याइरहँदा यसअघि उनकी आमा प्रिन्सेस अफ वेल्स डायनाको कार दुर्घटनामा सन् १९९७ अगस्ट ३१ मा निधन भएको थियो।

उनीहरूले राजपरिवारको भूमिका त्याग्ने घोषणा गरेलगत्तै सामाजिक सञ्जालमा टिकाटिप्पणी भएको थियो। पूर्वअभिनेत्री मार्कललाई व्यंग्य गरिएको ‘मेग्जिस्ट’ र ‘मेगन मार्कल’ लगायत ह्यासट्याग सामाजिक सञ्जालमा ट्रेन्डिङ भएका थिए।

गत अक्टोबरमा राजकुमार ह्यारी र मेगनले सञ्चारमाध्यमले आफूहरूबारे अनावश्यक चासो राखेकाले त्यसबाट जोगिन संघर्ष गर्नुपरेको बताएका थिए। पूर्वअभिनेत्री मार्कलले केही समयअघि बेलायतको एक पत्रिकाविरुद्ध आफ्नो निजी पत्र प्रकाशन गरेको भन्दै मुद्दा हालेकी थिइन्। एजेन्सी



प्रतिक्रिया दिनुहोस्