Logo

रातो बत्तीमै बाटो काट्छन् पैदलयात्रु



काठमाडौँ, ९ माघ । बानेश्वरको मुख्य चोकमा पैदलयात्रुले बाटो काट्न ३ मिनेट २० सेकेन्डसम्म पर्खनुपर्छ । यसबीच बाटो काट्नेको संख्या बाक्लै भइसक्छ । पारिपट्टिको ट्राफिक चिह्नमा हरियो बत्ती बलेपछि मात्रै ट्राफिक प्रहरीले बाटो काट्ने अनुमति दिन्छन् । नबलुन्जेल छेउमा उभिएर बस्न आग्रह गरिरहन्छन् ।

यही दृश्य मंगलबार पनि वारि र पारि दुवैतिर देखियो । रातो बत्ती बलेपछि यात्रुहरू रोकिए । एक युवक भने ट्राफिक प्रहरीको निर्देशन नटेरी बाटो काट्न थाले । उनी रहेछन्, कोटेश्वर बस्ने महेश न्यौपाने । उनलाई प्रहरीले रोकिन आग्रह गरे । ‘ट्राफिक लाइट हेरेर मात्र बाटो काटौं, नियमको पालना गरौं,’ प्रहरी भनिरहेका थिए, ‘हतार गर्दा क्षति हुन सक्छ ।’ तर, न्यौपाने भनिरहेका थिए, ‘पुरानो बानेश्वरमा साथी पर्खिरहेका छन् । रातो बत्ती बले पनि खाली सडक देखेर बाटो काट्ने प्रयास गरेको हुँ ।’ न्यौपाने अघि सरेपछि अरू केही पैदलयात्रु पनि बाटो काट्ने तयारीमा थिए तर प्रहरीले छेउमै गएर सम्झाएपछि रोकिए । एक जना भन्दै थिए, ‘ट्राफिकको नियम मान्नु कि बत्तीको ? कहिले बत्तीले हिँड्न संकेत दिँदा पनि ट्राफिकले दिँदैन ।’ बानेश्वरका तीन ठाउँमा ट्राफिक लाइट छन् । मुख्य चोक, शंखमुल जाने सडक र तीनकुने जाने सडकमा । सडकको बीचमा बसेर एक ट्राफिक प्रहरीले दुवैतर्फका पैदलयात्रुलाई लाइट देखाइरहेका हुन्छन् । ‘ट्राफिक लाइट हेरेर बाटो काट्नुपर्छ’ भन्दै उनीहरू सम्झाइरहेका पनि हुन्छन्, तर बाटो पार गर्न कोसिस गर्ने पैदलयात्रु कोही न कोही देखा परिहाल्छन् ।

मुख्य चोकमै बाटो पार गर्न खोज्ने पैदलयात्रुले अन्य ठाउँमा बत्तीअनुसार चल्दैनन् । शंखमुल सडकखण्डमा गौशालाका निशान्त जोशीले हत्तारिँदै बाटो पार गरे । उनले त्यहाँ राखिएका बत्तीको वास्ता गरेनन् । अन्य समयमा चोकमा मात्र केन्द्रित हुने ट्राफिक प्रहरी मंगलबार शंखमुलमा पनि थिए । देखेसम्म उनीहरूले जोशीजस्ता यात्रुलाई बत्तीअनुसार हिँड्न सम्झाइरहेका थिए । सिहंदरबारअगाडिको जेब्राक्रसमा पनि उस्तै दृश्य देखियो । त्यहाँ कोही ट्राफिक प्रहरी थिएनन् । त्यसैले पार गर्न सक्नेहरू जसरी भए पनि बत्तीको संकेतको बेवास्ता गर्दै बाटो पार गरिरहेका थिए ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्