Logo

राजनीतिक आडमा अवैध क्रसर



काठमाडौँ, ९ माघ । झापा बिर्तामोडका केदार गिरी कांग्रेसका क्रियाशील सदस्य हुन् । उनी नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ झापाका पूर्वअध्यक्ष पनि हुन् । उनले एक दशकदेखि बिर्तामोड–६ बुट्टाबारी चिया बगान नजिक मापदण्ड मिचेर क्रसर उद्योग चलाइरहेका छन् ।

गौरादह–१ मा जेपी बालुवा प्रशोधन केन्द्र छ । यसका सञ्चालक हुन् जगत राई । पाडाजुँगी–गौरीगन्ज सडक खण्डअन्तर्गत गुरुङ चोकैमा यो केन्द्र छ । बालुवा प्रशोधन केन्द्रका नाममा स्वीकृति लिइएको छ तर त्यहाँ बालुवा मात्रै चालिँदैन, गिट्टी, ढुंगा र रोडासमेत प्रशोधन हुन्छ । उद्योगको नजिकै घना बस्ती छ । त्यसको परवाह न सञ्चालकलाई छ, न स्थानीयलाई । राई प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीनिकट मानिन्छन् । गिरी र राई जस्तै राजनीतिक पहुँच भएका झापाका केही व्यक्तिले राजनीतिक आडमा खुलेआम अवैध क्रसर सञ्चालन गरिरहेका छन् । ती कोही कांग्रेस, नेकपालगायत पार्टीमा संलग्न छन् । कोही भने तिनका नाम चलेका नेतानिकट छन् । गिरीको कञ्चनजंघा क्रसर उद्योग पूर्वपश्चिम राजमार्गसँगै जोडिएको छ । क्रसर उद्योग सञ्चालन मापदण्डअनुसार खोलाको किनारभन्दा ५ सय मिटर, हाइटेन्सन लाइनभन्दा सय मिटर, राजमार्गबाट ५ सय मिटर र शिक्षण संस्था, सुरक्षा निकायलगायतका क्षेत्रबाट २ किलोमिटर बाहिर मात्रै क्रसर उद्योग सञ्चालन गर्न पाइन्छ ।

मापदण्डविपरीतको क्रसर हटाउन घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरले दर्जनौं पटक ताकेता गरेको छ । ‘राजनीतिक नेतृत्व र प्रशासनसँगको सम्बन्धका कारण कार्यान्वयन गर्नै मान्दैनन्,’ घरेलु कार्यालय स्रोतले भन्यो । घरेलु तथा साना उद्योग कार्यालय झापाले दुई महिना अघिसमेत क्रसर हटाउन अनुरोधसहितको पत्र पठाएको थियो । पत्रको बेवास्ता गरेको कार्यालय प्रमुख छविलाल खतिवडाले बताए । गिरीले भने क्रसर उद्योग हटाउने आशयको पत्र कसैले नपठाएको दाबी गरेका छन् । कांग्रेसकै अर्का जिल्लास्तरका नेता शेरबहादुर थापाले पनि अर्जुनधाराको टाङटिङ खोला किनारमै निर्धक्क रूपमा जयकाली भगवती रोडा उद्योग सञ्चालन गरेका छन् । मापदण्डअनुसार खोला किनारमा क्रसर सञ्चालन गर्न मिल्दैन । दमक नगरपालिकाभित्र पर्ने मावा खोला क्षेत्रमा तीन उद्योग छन् । तीनै वटा नेकपानिकट कार्यकर्ताको हो । दमकका राजकुमार थापाको दमक–९ को बेतेनी खोला किनारमा एआरआर कंक्रिट उद्योग छ । उनका दाजु गुणराजले दमक–३ स्थित मावा खोलाको बगरमा टीएचओ बालुवा प्रशोधन केन्द्र र भान्जा विनोद थापाले इन्द्रभवानी बालुवा प्रशोधन केन्द्र चलाएका छन् ।

राजकुमार तत्कालीन एमाले युवा संघ झापा क्षेत्र नम्बर ५ का अध्यक्ष थिए । हाल उनी युवा संघका प्रदेश सदस्य हुन् ।बालुवा प्रशोधन र कंक्रिट उद्योग भनेर घरेलुमा दर्ता भएको राजकुमारले बताए । तर बालुवा प्रशोधनका नाममा कतिपय उद्योगले क्रसर नै सञ्चालन गरेको पाइएको छ । ‘अब अनुगमन गरी नवीकरण रोक्का गर्छौं,’ घरेलु कार्यालयका प्रमुख खतिवडाले बताए । घरेलु तथा साना उद्योग कार्यालय झापाका अनुसार १२ वटा क्रसर उद्योग दर्ता छन् । मापदण्ड नपुगेका कारण ५ वटा उद्योग यसअघि नै बन्द भइसकेका छन् । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले सबै क्रसर मापदण्डविपरीत सञ्चालन भइरहेको दाबी गरे । ‘मापदण्ड पूरा गरेर सञ्चालन गर्न पत्र लेखेका छौं । कसैले टेरेका छैनन्,’ उनले भने ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्