Logo

पदयात्री खोज्न हिउँ खोतल्दै सेना



काठमाडौं, माघ ९ ।अन्नपूर्ण आधारशिविर क्षेत्रमा हिमपहिरोमा हराएका विदेशी पर्यटक र नेपाली गाइड खोज्न सेनाको टोलीले हिउँ खोतल्दै खोजी सुरु गरेको छ। खनीखोस्री गरे पनि बाक्लो हिउँ जमेकाले बेपत्ता व्यक्ति भेट्टाउन भने सहज नभएको सेनाले बताएको छ।

सेनाको पोखरास्थित पश्चिम पृतनाका पृतनापति गोकुल भण्डारीका अनुसार घाम लागेकाले टोलीले बुधबार दिनभर पदमार्ग क्षेत्रमा खनीखोस्री गरेको थियो। ‘अहिले पनि बेलाबेलामा हिउँको थुप्रो माथिबाट खसिरहेको छ। त्यसैले सचेत भएरै खोज्नुपर्छ,’ भण्डारीले भने, ‘हामीसँग त्यहाँ उपलब्ध सामग्री प्रयोग गरेर बेपत्ता व्यक्तिको खोजी गरे पनि सहज भने छैन।’ हिउँ खन्ने उपकरणसहित त्यस क्षेत्रमा सेना खटिएको उनले बताए।

हिमपहिरोमा परेर हराएका पदयात्रीको खोजीका लागि सेनाको विशेष टोली मंगलबार हेलिकोप्टरबाट घटनास्थल पुगेको थियो। हिमपहिरोपछि खोजीका लागि सुरक्षा निकायबाट पुगेको यो नै पहिलो टोली हो। हिमपातमा परेर चारजना कोरियाली र तीनजना नेपालीसहित सातजना पदयात्री गत शुक्रबारदेखि त्यस क्षेत्रमा हराएका छन्। मौसम अनुकूल नहुँदा त्यस ठाउँमा सुरक्षाकर्मीसमेत जान सकेका थिएनन्। मंगलबार मात्र सेनाका कर्णेल अमित गुरुङको कमान्डमा नौजना सैनिक पहिरो स्थलमा परिचालन भएको भण्डारीले बताए।



प्रतिक्रिया दिनुहोस्