Logo

कम भ्रष्टाचार र लोकतन्त्रको सूचंकाकमा नेपालको फड्को



काठमाडौं, ९ माघ । नेपालले कम भ्रष्टाचार हुने देशहरुको सूचीमा फड्को मारेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले बिहिबार सार्वजनिक गरेको सूचकांकमा नेपालले ११ स्थान फड्को मार्दै ११३ औं स्थान बनाउन सफल भएको हो ।

नेपालले यस वर्ष ३४ अंक प्राप्त गरेको छ । गत वर्षको प्रतिवेदनमा नेपाल १२४ औं स्थानमा थियो । सँसारमा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा डेनमार्क पहिलो स्थान बनाउन सफल भएको छ । कुल १०० अंकमा डेनकार्कको ८७ अंक छ । बढी भ्रष्टाचार हुने देशमा सोमालिया रहेको छ । उसको मात्र ९ अंक छ ।

दक्षिण एशियामा कम भ्रष्टाचार हुने देशमा भुटान परेको छ । ६८ अंक प्राप्त गर्दै भुटानले २५ औं स्थान बनाएको छ । भारत र चीन ४१ ४१ अंक प्राप्त गर्दै ८० औं स्थान बनाउन सफल भएका छन् । श्रीलंका ९३ औं, मालदिभ्स १३० औं र अफगानिस्तान १७३ औं स्थान बनाउन सफल भएका छन् ।
यसैगरी, लोकतन्त्रसम्बन्धि सूचंकाकमा नेपाल छ स्थान उक्लिन सफल भएको छ । गत वर्ष ९७ औं स्थानमा रहेको नेपाल यसवर्ष ९२ औं स्थानमा पुगेको हो ।

बुधबार सार्वजनिक भएको द इकोनोमिक इन्टेलिजेन्स युनिटको ग्लोबल डेमोक्रेसी इन्डेक्स २०१९ का अनुसार नेपालले ५.२८ अंक प्राप्त गर्दै उक्त स्थान हासिल गरेको हो । सूचकांकका अनुसार नेपाल हाइब्रिड रिजाइमको वर्गमा पर्दछ ।

द इकोनोमिक इन्टेलिजेन्स युनिटका अनुसार भारत ५१ औं स्थानमा छ । गत वर्ष ४१ औं स्थानमा रहेको भारत झरेर ५१ औं स्थानमा पुगेको हो । भारतमा नागरिक स्वतन्त्रता खस्केको उल्लेख छ । गत वर्ष ७.२३ अंक पाएको भारतले यस वर्ष ६.९० अंक पाएको छ ।

सूची बनाउँदा पाँचवटा विषयलाई आधार बनाइएको छ । जसमा चुनावी प्रक्रिया र बहुलवाद, सरकार संचालन, राजनीतिक सहभागिता, राजनीतिक संस्कार र नागरिक स्वतन्त्रता छन् ।

कुल अंकलाई आधार मानेर सँसारभरका देशहरुलाई चारवटा प्रकारमा राखिएका छन् । जसमा ८ अंकभन्दा बढी प्राप्त गर्ने पूर्ण लोकतन्त्र, ६ देखि ८ सम्म पाउने त्रुटीपूर्ण लोकतन्त्र, ४ देखि ६ अंक प्राप्त गर्ने हाइब्रिड शासन र ४ भन्दा कम अंक प्राप्त गर्ने सर्वसत्तावादीमा राखिएका छन् । उत्तर कोरियामा पुछारमा छ । नर्वे शिर्ष स्थानमा छ । आइसल्याण्ड दोस्रो र स्वीडेन तेस्रो स्थानमा छन् । न्युजिल्यान्ड चौंथो, फिनल्यान्ड पाचौं, आइरल्यान्ड छैठौं, डेनमार्क सातौं, क्यानडा आठौं, अष्ट्रेलिया नवौं र स्वीटजरल्यान्ड दशौं स्थानमा छन् । नेपालभन्दा एक स्थान माथि भुटान ९१ औं स्थानमा परेको छ ।
चीन १५३ औं स्थानमा हुँदा रुस १३४ औं स्थानमा परेको छ । पाकिस्तान १०८, श्रीलंका ६९ र बँगलादेश ८० औं स्थानमा परेको छ ।



प्रतिक्रिया दिनुहोस्