Logo

हिमपातले पशुपालन व्यवसाय संकटमा



काठमाडौँ, १० माघ । भारी हिमपातका कारण उत्तरी हुम्लाको पशुपालन व्यवसाय संकटमा परेको छ । हिमपातले पशुवस्तु चराउने वन सेताम्मे हुँदा घाँस नपाइने भएपछि घरमा काटेर राखेको घाँसले मात्र पशुवस्तु पाल्न समस्या हुन थालेको छ ।

पहिले हिउँ ढिलो पर्दा पशुवस्तुलाई चराउन यसरी समस्या नभएको र यो वर्ष पुस र माघ महिनामा आधा दर्जन पटक हिमपात भइसक्दा पशुवस्तुका लागि चरनको समस्या हुन थालेको सिमकोट गाउँपालिका वडा नं. ३ को लिमांटाङका किसान कार्मा लामाले बताए । २० वटा पशुवस्तु भएका लामाले चराउने वन जताततै हिउँले ढाकेकाले चरनको समस्या निकै हुन थालेको र जाडो महिनाका लागि काटेर राखेको घाँस पनि सकिन थालेपछि पशुवस्तु पाल्न संकट हुने देखिएको छ । यता १५ वटा पशुवस्तु भएका सिमकोट गाउँपालिका वडा नं. ७ का कालीबहादुर शाहीले पटक पटकको हिमपातले पशुपालनमा समस्या भएको बताए । एकातिर उच्च हिमाली क्षेत्रमा हिउँदको समयमा वनमा घाँसै कम हुने र भएको घाँस पनि हिउँले ढाकेपछि चरनको समस्या भएको छ । घरमा काँटेर राखेको घाँस सकिनै लागेकोले बाँकी चार महिना पशु पाल्न समस्या भएको उनको भनाइ छ ।

हिमपात बढी हुने भएको कारण माथिल्लो हुम्लामा यस पटक पशुपालनमा समस्या आउन सक्ने भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्राविधिक कृष्ण रोकायाले बताए । उनका अनुसार उत्तरी हुम्लाका नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका अधिकाँस भूभागमा हिउँ जमेका कारण पशुवस्तुलाई चरनको समस्या भइरहेको र घरमा हिउँदका लागि काटेर राखेको घाँसले मात्र पशुलाई आहार नपुग्ने निश्चित छ । यी तीन वटा गाउँपालिकामा मात्र भेडाबाख्रा बाहेक गाई, गोरु, झोपा, जुमा, चौरी, घोडाघोडी, खच्चड र गधा गरी करिब सात हजार ९९६ रहेको केन्द्रले जनाएको छ । भेडापालक किसानलाई भने भेडाबाख्रा बेसीतर्फ लगिएको कारण केही सहज भएको छ ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्