Logo

गर्भवतीलाई अमेरिका प्रवेशमा कडाइ



वासिङ्टन, १० माघ । संयुक्त राज्य अमेरिका प्रवेश गर्न चाहने गर्भवती महिलालाई अप्ठेरो हुने गरी ट्रम्प प्रशासनले बिहीबार नयाँ भिसा नियम सार्वजनिक गरेको छ ।

बच्चा जन्माउनका लागि मात्रै अमेरिका आउन लागेको भन्ने कन्सुलर अधिकृतहरुलाई लाग्यो भने आवेदकका पर्यटक भिसा अस्वीकृत गरिने संघीय रजिस्टरले जारी गरेको नयाँ नियममा भनिएको छ । ‘बच्चा जन्माउनभन्दा पनि मेडिकल आवश्यकताले मात्र अमेरिका जान लागेको भन्ने आवेदकका भनाइलाई चिर्न अत्यन्तै अप्ठेरो हुने गरेको थियो । मेडिकल आवश्यकताले अमेरिका जान आवेदन दिनेलाई अन्य विदेशीलाई झैं उनीहरुले त्यसका लागि पैसा खर्च गर्न सक्छन् वा सक्दैनन् भनेर हेरिनेछ । त्यसमा उनीहरुको यातायात र अमेरिका बस्दाको खर्च गर्न सक्ने क्षमतालाई पनि हेरिनेछ,’ संघीय रजिस्टरले जनाएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘जन्म पर्यटन’ प्रतिबन्ध गर्ने उद्देश्यलाई साकार बनाउने उद्देश्यसहित नयाँ भिसा नियम आएको हो । बच्चा जन्माउनकै लागि गर्भवती महिला अमेरिका प्रवेश गर्ने र जन्मका आधारमा पासपोर्ट माग्ने गरेको भन्दै ट्रम्पले उनीहरुको भिसालाई कडाइ गर्ने यसअघि नै बताउँदै आएका थिए ।

‘बर्थ टुरिजम’ अर्थात् ‘जन्म पर्यटन’ एजेन्सी सञ्चालकलाई किर्ते गरेको र कर छलेको आधारमा पक्राउ गरिएको केही घटना भए पनि अमेरिकामा बच्चा जन्माउन जानुलाई मौलिक रूपमा कानुनी अभ्यास मानिन्छ । र, भिजाका लागि आवेदन दिँदा महिलाहरुले सत्य नै बोल्ने गरेका छन् । उनीहरुले कन्सुलरसमक्ष चिकित्सक र अस्पतालसाग गरिएका हस्ताक्षरयुक्त करार पनि देखाउने गरेका छन् । अमेरिकी विदेश मन्त्रालयले बच्चालाई नागरिकता पाउने वातावरण बनाउनका लागि मात्रै अमेरिका प्रवेश गर्नु भनेको ‘बर्थ टुरिजम’ भएको आरोप लगाउँदै यो कार्य अवैधानिक भएको जिकिर गरेको छ । उसका अनुसार बिहीबार सार्वजनिक नयाँ नियम शुक्रबारबाटै कार्यान्वयनमा आउनेछ ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्