Logo

एसपी खापुङ जिल्लिए



काठमाडौं, १० माघ । गृहमन्त्रालयका सचिव प्रेमकुमार राईसँग निकटता देखाएर नेपाल प्रहरीको प्रशासन शाखाको प्रमुखको जिम्मेवारी पाएका एसपी चन्द्रकुवेर खापुङको एसएसपी बढुवा हुने सपना चकनाचूर हुने भएको छ । गृहसचिव राई यही माघ २२ मा ५ बर्षे पदावधि पूरा गरी अवकाश हुने भएका छन् । उनी अवकाश हुनु ४ दिनअघि माघ १८ मा बिदा बस्ने योजनामा रहेका छन् ।

एसएसपी पद ८ महिनाअघि नै खाली भए पनि खापुङले नै गृहसचिव लगाई बढुवा रोकेका थिए । उनी एसपी बढुवा भएको ३ बर्ष नपुगेका कारण उनले एसएसपी बढुवा रोक्दैआएका थिए । नेपाल प्रहरीमा अधिकृत तहको बढुवा भएको ३ बर्ष पुगेपछि माथिल्लो पदमा बढुवा योग्य हुने नियमावलीको ब्यवस्था छ । खापुङको ३ बर्ष २०७६ पुसमा मात्र पुग्ने भएकाले उनले बढुवा रोक्न लगाए । उनले प्रहरीको प्रशासनमा बसेर जिल्ला इन्चार्ज एसपी वा डीएसपीको सरुवामा पनि चलखेल गर्दैआएका थिए । सरुवा हुनुअघि खापुङले गृहसचिव राईलाई नामको सूची दिने गरेका थिए । गृहसचिवले आइजीपी सर्वेन्द्र खनाललाई जिल्लामा सरुवा हुने एसपी र डीएसपीको सूची टिपाउन लगाउँथे । गृहसचिवले भनेपछि आइजीपी खनालले सूची अनुसार नै सरुवा गर्थे । सेटिङ अनुसार खापुङले सरुवा भएका जिल्लाका इन्चार्जसँग पैसा असुली गर्दैआएका थिए । सचिवबाट नाम पठाएर आइजीपीलाई डिमोरलाइज गराउने काम उनले कप्रमा बसेर गर्दैआएका थिए ।

गृहसचिव राईको आडमा सरुवामा चलखेल गर्दै लाभ लिएका एसपी खापुङ एसएसपी बढुवा हुने कुरामा ढुक्क थिए । तर उनका आडभरोसा गृहसचिव राई अवकाश हुनुअघि एसएसपी बढुवा नै नहुने भएको छ । आइजीपी खनाल पनि उनले गृहसचिवको आडमा आफूलाई कमजोर बनाउन खोजेकाले उनलाई बढुवा गर्ने पक्षमा छैनन् । गृहसचिव माघ १८ मा बिदा बस्ने र आइजीपी खनाल जिल्ला भ्रमणबाट आइतबार मात्र फर्कने भएका छन् । त्यही भएकाले खापुङको एसएसपी बढुवा हुने संभावना लगभग टरेको छ । शक्तिको आडमा उनले बढुवा रोक्दैआएका थिए । उनीभन्दा धेरै बरिष्ठ एसपीहरु भएकाले अब उनी बढुवा हुने संभावना कम देखिएको छ ।

त्यसो त एसपी खापुङ जहाँ इन्चार्ज हुँदा पनि विवादमा परेका थिए । दरबारमार्गमा डीएसपी हुँदा गुण्डानाइके गणेश लामाका सहयोगी प्रशान्त शर्मालाई ब्यापारीको कलडिटेल उपलब्ध गराएको आरोपमा खापुङलाई कारबाहीस्वरुप तत्कालीन आइजीपी उपेन्द्रकान्त अर्यालले तानेका थिए । शर्मालाई घुस लिएर उनले कलडिटेल दिएको पुष्टी भएपछि उनलाई तानिएको थियो । बागलुङमा डीएसपी हुँदा पनि उनी छोटो समयमै तानिएका थिए । सचिवको नाम बेचेर लाभ लिएका खापुङ अहिले एकाएक गृहमन्त्री रामबहादुर थापापुत्र प्रतीक थापाको शरणमा पुगेका छन् । पहिला प्रतीक थापाले भनेको कुनै पनि काम नगर्ने उनी अहिले उनको शरणमा पुगेका छन् । पहिला प्रतीक थापाको बदनाम गर्ने उनी अहिले बढुवाको आशामा उनको शरणमा पुगेका छन् ।
दृष्टि साप्ताहिकबाट



प्रतिक्रिया दिनुहोस्