Logo

१८ पम्पलाई अल्टिमेटम



काठमाडौं, माघ १० । दुर्घटनाको जोखिम बढेपछि उपत्यकामा मापदण्ड विपरीतसञ्चालित पेट्रोल पम्प हटाउन नेपाल आयल निगमले दुई साताको अल्टिमेटम दिएको छ। निगमले बुधबार पम्प सञ्चालकलाई पत्राचार गर्दै सरकारको निर्णयअनुसार पम्प हटाउने प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको अध्ययनमा काठमाडौं र ललितपुरमा१८ पेट्रोल पम्प मापदण्ड विपरीत रहेको प्रतिवेदन तयार गरेको थियो। उक्त प्रतिवेदनका आधारमा मन्त्रिपरिषद् बैठकले ती पम्प हटाउने निर्णय गरेको थियो।

सरकारको पम्प हटाउने निर्णय कार्यान्वयन गर्न पत्राचार गरेको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए। ‘अहिले सञ्चालन गरेको ठाउँबाट पम्प हटाउन दुई साताको समय दिएका छौं,’ प्रवक्ता गोइतले भने, ‘आफूले सार्न चाहेको ठाउँ उल्लेख गरेर आवेदन दिई प्रक्रिया अघि बढाउनुपर्नेछ।’

निगमले अहिलेको ठाउँबाट स्थानान्तरण वा हस्तान्तरणप्रक्रिया अघि बढाउने अवसर दिएको गोइतले बताए। ‘कहाँ सार्ने हो भन्ने विषयमा स्पष्ट खुलाउन निर्देशन दिएका छौं,’ गोइतले भने, ‘मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्छौं।’ सरकारको निर्णयलाई कार्यान्वयन गर्न पम्प सञ्चालकले अटेर गरेपछि निगमले दुई साताको समय सीमा तोकेर पत्राचार गरेको हो। डिजेल तथा पेट्रोल अति प्रज्ज्वलनशील पदार्थ भए पनि पम्प सञ्चालकले मापदण्ड विपरीत सञ्चालन गर्दै आएका थिए।

सरकारले कनक पेट्रोल पम्प–टेकु, कोत धुकु पेट्रोल पम्प–बालाजु, जयन्ती पेट्रोल पम्प–त्रिपुरेश्वर, मायाराम भोलाराम पेट्रोल पम्प–त्रिपुरेश्वर, श्यामा पेट्रोल पम्प, बाबा पेट्रोल पम्प, त्रिशूल पेट्रोल पम्प–कलंकी, बराल पेट्रोल पम्प, जुबी पेट्रोल पम्प–बौद्धलाई अहिले सञ्चालनमा रहेको ठाउँबाट हटाउने निर्णय गरेको थियो। त्यसैगरी, कामाख्या पेट्रोल पम्प, भ्याली रिकेश पेट्रोल पम्प–कोटेश्वर, सीता पेट्रोल पम्प–महाराजगन्ज, बालकुमारी पेट्रोल पम्प, बज्रबाराही पेट्रोल पम्प, टीका भैरव डिजेल स्टोर–चापागाउँ, गायत्री पेट्रोल पम्प, एचपी इन्टरनेस्नल–जाउलाखेललाई पनि हटाउने निर्णय गरेको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्