Logo

ओलीले अकस्मात् खनाललाई बोलाएर किन गरे चार घन्टा संवाद



काठमाडौं, १० माघ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका वरिष्ठ नेता झलनाथ खनाललाई बिहिबार अचानक बोलाए । बालुवाटारमा अकस्मात् बोलाइएपछि खनाल हतारिदै पुगे ।
विहान १० बजे बालुवाटार पुगेका ओलीसँग लन्चसहित कुराकानी गरे । लन्च खाएर दुई बजेमात्र खनाल बालुवाटारबाट निस्किए ।
दुई नेताले मन माझेर कुराकानी गरेको बुझिएको छ । दुःख सुखका धेरै कुराकानी भएको खनालले खुलाएका छन् ।

‘हामीबीच करिब पौने चार घन्टा दुःख सुखका धेरै अनौपचारिक कुराकानी भयो,’ ओलीसँगको छलफलबारे खनालले भनेका छन्, ‘जीवन, जगत्, वर्तमान र भविष्यका चुनौती र सम्भावनाका बारेमा छलफल र्गयौँ ।’ खनाल पछिल्लो समय ओलीसँग असन्तुष्ट भइरहँदा भएको भेटलाई अर्थपूर्ण मानिएको छ ।

सभामुख चयन प्रकरणमा पूर्वएमाले समूहका वरिष्ठ नेताद्वय खनाल, माधवकुमार नेपाल र वामदेव गौतमले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अघि सारेका नेता अग्नि सापकोटालाई साथ दिएपछि अध्यक्ष ओलीले असहज महसुस गरेका थिए । सचिवालयमै अल्पमतमा पर्ने सम्भावना देखिएपछि ओली सापकोटाको नाममा निर्णयका लागि तयार भएको चर्चा नसेलाएकै अवस्थामा खनालसँगको लामो संवादलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

यद्यपि, उनले सभामुख चयन प्रकरणलगायत विषयमा कुनै पनि चर्चा नभएको बताए पनि पार्टी सञ्चालन र सरकारको कामलाई अझ प्रभावकारी बनाउने विषयमा भने छलफल भएको स्वीकार गरे । ‘पार्टी र सरकारलाई राम्ररी सञ्चालन गर्नुपर्छ नत्र भोलिका दिनमा अप्ठ्यारो स्थिति आउन सक्छ भन्ने कुराकानी भयो,’ उनले भने ।

ओली–खनालबीच लामो समयदेखि विश्वासिलो सम्बन्ध छैन । पार्टी एकतासँगै आफूलाई वरिष्ठ नेताको वरीयतामा तल पारिएको भन्दै खनाल ओलीसँग असन्तुष्ट थिए । तर, गत ३ भदौको सचिवालय बैठकले उनकै मागअनुसार वरीयता सच्याइएपछि भने ढिलै भए पनि पार्टीले न्यायोचित निर्णय गरेको खनालले प्रतिक्रिया दिएका थिए ।

ओलीले पार्टी सञ्चालनबारे अर्का अध्यक्ष प्रचण्डसँग नियमितजस्तै संवाद गर्दै आएका छन् । पार्टी सञ्चालनलगायत विषयमा प्रचण्डपछि ओलीले खनाललाई भन्दा नेपालसँगको संवादलाई प्राथमिकता दिने गरेका छन् । तर, गत ५ भदौमा ओली–नेपाल सम्बन्ध तिक्ततामा परिणत भएपछि उनीहरूबीचको सम्बन्ध व्यक्तिगत रूपमा अझै सुमधुर भइसकेको छैन । यद्यपि, ओली–नेपालले गत २९ कात्तिकमा करिब ४ घन्टा लामो छलफल गरेर तिक्तता सम्बन्धको समीक्षा गर्दै सुमधुर बनाउने प्रयास गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्