Logo

अल्पमतमा परेपछि ओली सक्रिय, नेकपाभित्र गुट परिवर्तनको माहोल



काठमाडौं, १० माघ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र गुट परिवर्तनको माहोल तयार भएको छ । यसबाट आफू अल्पमतमा पर्ने देखेर प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली आत्तिएका छन् । उनले बिहिबार वरिष्ठ नेता झलनाथ खनाललाई खुशी पार्न बोलाएर चार घन्टा छलफल गरेका छन् । खनाल ओलीको लन्चसहितको भेटपछि प्रफुल्लित भएर फर्किएका छन् ।

सभामुख चयनप्रक्रियामा दलका दुई शीर्ष नेताबीच चार महिना लामो हानथापले यी नेताको समेत शक्तिको राम्रै मापन भयो यस अवधिमा । नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड एकअर्कालाई गलाउने रणनीतिमा लागे पनि तत्काललाई त्यसको लाभ प्रचण्डलाई मिलेको देखिन्छ । अन्ततः यसमा प्रचण्डले बाजी मारे । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले प्रचण्डलाई गलाउन महिनौं लगाए । तर, अन्त्यमा आफैं गले । उनी सुवासचन्द्र नेम्वाङ या शिवमाया तुम्बाहाम्फेको नामबाट पछि हटेर प्रचण्डले भनेकै अग्निप्रसाद सापकोटाको नाममा सहमत हुन बाध्य भए । यसबाट प्रचण्ड पक्ष त उत्साही देखिएको छ । एकाएक दलमा कसरी प्रचण्ड हाबी भए वा ओली कमजोर– यसको पृष्ठभूमिबारे विश्लेषकहरुको भनाइ विभाजित छ । तर पनि दलमा ओली कमजोर र प्रचण्ड बलियो हुँदै गएको तथ्यलाई तत्कालै नकार्ने अवस्था भने छैन । तर, सँगसँगै पूर्व माओवादीभित्रैको एउटा अर्को समूह भने सभामुखमा अग्नि सापकोटाको नाममा भएको सहमतिका कारण असन्तुष्ट बनेको छ ।

दलभित्रका उपगुटमा यो बीचमा आएको बेचैनी एकातिर छ भने अर्कोतिर स्वयं पार्टी नेतृत्व तहको शक्तिसंघर्षले दलको दीर्घकालीन स्वास्थ्यमा समेत हानि पुर्याउने संकेत देखिन थालेका छन् । गत निर्वाचनअघि आफ्नो राजनैतिक धरातल कमजोर बन्दै गएको आँकलन गर्दै तत्कालीन माकेका अध्यक्ष प्रचण्डले एमालेसँग पार्टी एकता गर्ने निर्णय गरे । उनको यस निर्णका पछाडि अनिश्चितजस्तै बन्दै गएको आफ्नो राजनैतिक भविष्यको संरक्षण गर्ने उनको नितान्त व्यक्तिगत आकांक्षा लुकेको थियो । तर एकतापछि बितेका यी २० महिनामा दलमा जसरी उहाँलाई भूमिकाहीनजस्तै बनाइयो, त्यसले उहाँमा अर्को बेचैनी प्रकट भएको थियो । यसै बेचैनीबाट मुक्त हुनकै लागि नैतिक-अनैतिक सबैखाले सम्झौता गर्न बाध्य पनि भए । दलमा आफ्नो अडानलाई कार्यान्वयन गर्न पछिल्लोपटक यी र यस्तै सम्झौता उनका लागि सहायकसिद्ध भए पनि ।

कमजोर धरातलका प्रचण्ड एकाएक दलको कार्यकारी भूमिकामा पुग्नासाथ उनको टिम नै परिवर्तन भयो । ओलीबाट आफूमा अधिकार स्थानान्तरण हुनासाथ उनका साथ र सहयागी नै परिवर्तन भए । ओलीको निकटताबाट उनी दलभित्रै ओलीका कट्टर आलोचकको खेमाका हर्ताकर्ता बन्न पुगे । भैंसेपाटीस्थित वामदेव गौतमनिवासमा सचिवालयका नौजनामध्ये पाँच (प्रचण्ड, खनाल, नेपाल, गौतम र श्रेष्ठ) बीचको छलफलबाट प्रचण्डले ओलीलाई उनी एक्लिएको संकेतसमेत दिन सफल भए ।

आफ्ना आलोचकको कित्तामा उभिएर प्रचण्डले आफूलाई पार्टी भित्रै अल्पमतमा रहेको सन्देश दिएकै कारण पनि पछिल्ला आफ्ना अडानबाट ओली पछि हटेको राजनैतिक विश्लेषकहरुको धारणा रहेको छ । उनीहरुका अनुसार, प्रचण्ड–माधव, वामदेवको समीकरण बन्दा आफूले दलको ३५ प्रतिशत हिस्सामात्र नियन्त्रणमा राख्न सक्ने अवस्था ओलीलाई ज्ञात छ । त्यसैले पनि उनले आफ्ना अडानबाट पछि हटेर प्रचण्डका लागि वातावरण सहज बनाउनमै आफ्नो हित ठानेका हुन् । हुन पनि पछिल्लो सचिवालय बैठकमा ओलीको पक्षमा उपप्रम ईश्वर पोखरेल र पार्टी महासचिव विष्णु पौडेलमात्रै देखिए भने अर्का सचिवालय सदस्य रामबहादर थापाको भूमिका तटस्थ नै देखिएको थियो । यसैले पनि आफ्ना अडानलाई कायमै राख्नु ओलीका लागि ‘घाटाको सौदा’ बन्ने निश्चित थियो । त्यसैले पनि आफ्ना अडानलाई कायमै राख्नु भन्दा पनि अन्तिम समयमा सिंगो दलको नेताको सन्देश दिन ओलीले सभामुखमा सापकोटाको नाम स्वीकार्नुबाहेक अर्को विकल्प थिएन ।

यता दलको शीर्ष नेतृत्व तहमा रहेको चरम गुटबन्दीले नै दललाई के हो के हो भन्ने प्रश्न उठिरहेका बेला पूर्व माओवादीभित्रै अर्को गुट जन्मिएको छ– जो पछिल्लो सचिवालय बैठकले सापकोटाका सम्बन्धमा लिएको निर्णयविरुद्ध छ । पूर्व माओवादीमा यसको कमान सचिवालयकै अर्का सदस्य तथा गृहमन्त्री रामबहादुर थापाले सम्हालेका छन् र यो समूहमा संसदीय दलका प्रमुख सचेतक देव गुरुङलगायतका नेता रहेका छन् । यो समूह अहिले पुनः प्रचण्डलाई घेराबन्दीमा पार्ने योजनाका साथ अघि बढेको थापानिकट स्रोतहरुका बोलाइ र व्यवहारले देखाउन थालेको छ । यो समूह सभामुख चयनमा असन्तुष्ट बनेको छ । अहिले अध्यक्ष प्रचण्ड र थापाबीच दूरी बढेको छ । थापा पम्फा भुषाल या देव गुरुङमध्येबाट एकलाई सभामुख बनाउन चाहन्थे । उनले यसमा प्रयाससमेत गरेका थिए । तर, प्रचण्ड अग्नि सापकोटाको नामबाट टसमस भएनन् । उनको अडानले जितेरै छाड्यो । थापा यसकारण प्रचण्डबाट टाढिए ।

पछिल्लो समय प्रचण्डसँग असन्तुष्ट बनेका थापा ओलीसँग नजिकिएका छन् । प्रचण्डले गृहमन्त्रीबाट थापालाई हटाउन चाहेका गिथए । तर, ओलीले थामिदिएको बुझिन्छ । यसबाट पनि थापा सन्तुष्ट छैनन् । गृह मन्त्रालयमा थापाको केही नचल्ने अवस्था बनाइएको छ । त्यहाँका सबैले प्रचण्ड या ओलीसँग मात्र सोधेर काम गरिरहेका छन् । थापा समूहकी पम्फा भुसाल र देव गुरुङ पनि प्रचण्डबाट टाढिएका छन् । मातृका यादवमात्र प्रचण्डको साथमा छन् ।
यसैगरी, नेकपाको पूर्व एमालेबाट वामदेव गौतम प्रचण्डनिकट भएका छन् । सभामुख चयनप्रक्रियामा वामदेवले प्रचण्डलाई साथ दिनुभएको सन्देश दिनेगरी भैंसेपाटीस्थित आफ्नै निवासमा बैठक डाकेका थिए ।

माधव नेपाल र झलनाथ खनालको आफ्नै गुट छ । उनीहरुले पनि ओलीलाई असजिलो पारिदिए– जसका कारण पनि ओली गलेका थिए । प्रचण्डले ओलीलाई सभामुख राख्ने भए प्रम छाड्न भने । संसदीय दलबाट टुंगो लगाउने भए प्रमको पनि टुंगो लगाऔं भनेका थिए । संसदीय दलमा नेकपा भित्र माधव, झलनाथ र वामदेव विपरीतमा गए ओली स्वतः अल्पमतमा पर्ने अवस्था छ । सचिवालयमा ओलीसँग महासचिव पौडेल र ईश्वर पोखरेलमात्र छन् । पोखरेल पनि गुट बदल्न सिपालु छन् । माधव नेपाल, झलनाथ र वामदेवको आफ्नै गुट छ । प्रचण्डसँग नारायणकाजी र रामबहादुर थापा रहे पनि उनीहरु पनि पद अनि शक्तिका लागि यताउता हुन खोजिरहन्छन् । स्थायी समितिका ४७ सदस्यमध्ये ओलीको पक्षमा १२ विश्वासिला छन् । बाँकी प्रचण्ड, नेपाल, गौतम र खनालनिकटस्थ मानिन्छन् । पूर्व एमाले र पूर्व माकेको अवस्थामामात्र ओलीको पल्लाभारी छ । प्रचण्ड, नेपाल, गौतम र खनाल एक भएमा ओलीको केही लाग्दैन ।

अब ओलीविरोधीहरु सक्रिय भइरहँदा गुट बदल्ने अवस्था बन्न सक्छ । सभामुख चयन, एमसीसी बारेको निर्णयले पनि अवस्था फरक पार्न सक्छ । पूर्व एमाले पूर्व माकेको गुटमा र पूर्व माके पूर्व एमालेको गुटमा जाने अवस्था बनेको छ । गुट परिवर्तनको लाभ प्रचण्डले पूरापूर उठाउन खोजिरहेका छन् । सभामुख चयनमा ओली गलेपछि उनी निकटस्थहरुको मनोबल घटेको छ । अब प्रचण्डले पार्टी कब्जा गर्छन् भन्ने सन्देश जान थालेको छ । ओली पक्षका कतिपय नेताले प्रचण्डसँग भेटघाट बाक्लो बनाउन थालिसकेका छन् । नेपाल पक्षका केही नेता पनि प्रचण्डसँग नजिकिएका छन् । पछिल्लो समय भीम रावलको बोली प्रचण्डसँग मिल्न थालेको छ । यसले नेकपाभित्रको अन्तर्संघर्षले गुट बदल्ने प्रतिष्पर्धामा रूपान्तरण हुन सक्ने अवस्था बन्न थालेको छ ।

यता प्रचण्डले थापालाई गृहमन्त्रीबाट हटाउन खोजेको वारम्वार चर्चा चल्दै आएको छ । पछिल्लो समय सबै अवसर पूर्व माओवादीमा प्रचण्डले आफूनिकटलाई मात्र दिएको विषय उठेको छ । मोहन वैद्यको समूहबाट अलग भएर थापा समूहबाट आएका व्यक्तिले अवसर नपाएको भन्दै असन्तुष्टि बढेको हो । प्रचण्डले थापाबाहेक कसैलाई पनि उहाँको समूहबाट मन्त्री बनाएका छैनन् । यसबाट थापा झन रुष्ट बन्दै गएका छन् । सभामुखमा पनि प्रचण्डले वैद्यलाई छाडेर आएका नेतालाई अवसर दिएनन् । विगतमा वैद्यबाट आएका नेतालाई अवसर दिएजस्तो गरे पनि पछिल्लो समय अवसरबाट वञ्चित पारिएका छन् । प्रचण्डले यसमा निकै चातुर्य देखाए । उनले वामदेव गौतमलाई पनि आकर्षित गर्ने गतिविधि देखाइरहेका छन् । गौतम आफैं प्रम बन्न गोडा उचाल्दै आएका छन् । उहाँलाई यसकारण पनि बर्दियाबाट निर्वाचन हराउन अन्तर्घात भएको चर्चा नेकपाभित्र अझै सेलाएको छैन ।-File Photo



प्रतिक्रिया दिनुहोस्