Logo

माओवादीका पूर्व लडाकु विहानै प्रचण्ड निवास घेराऊ गर्न पुगेपछि (तस्बिरसहित)



काठमाडौं, १० माघ । शुक्रबार विहान छ बजे नै पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा सय जनाको समूह पुग्यो । लडाकु जस्ता देखिने युवाहरु बालबच्चा र परिवारसहित पुगेपछि प्रचण्डको सुरक्षादस्ता नै अलमलमा पर्यो । उनीहरु ढोकामा पुगी प्रचण्डलाई भेट्न आएको जानकारी गराए । तर, सुरक्षाकर्मीले भित्र छिर्न दिएन ।

प्रचण्डनिवासको मूलढोकामा एक घन्टासम्म युवाहरु घेरेर बसे । उनीहरुलाई देखेर सुरक्षाकर्मीले थप दस्ता पठाउन महानगरीय प्रहरी परिसर ललितपुर देखि माथिसम्म जानकारी गरायो । त्यसको आधा घन्टापछि पाँच गाडी प्रहरी प्रचण्डनिवासमा पुगे । एसएसपीकै कमाण्डमा प्रहरी पुग्यो । तर, युवाहरुले मूलढोका छाडेनन् । उनीहरुले प्रचण्डलाई नभेटी नछाड्ने अडान लिए ।

सुरक्षाकर्मीले भित्र जानकारी गराएपछि प्रचण्डले उनीहरुमध्येका दुईजनालाईमात्र भित्र पठाउन भने । दुई सय जनाको समूह थिए माओवादीको दशवर्षे जनयुद्धमा होमिएका लडाकु । उनीहरुलाई लडाकु समायोजनका बेलामा बर्हिगमन गरिएको थियो । बर्हिगमित लडाकु आफ्नो माग राखी प्रचण्डलाई भेट्न कोशिश गरिरहेका थिए । प्रचण्डपुत्री गंगा दाहाललाई समेत भेट मिलाइदिन अनुरोध गरेका थिए ।

सुनुवाई नभएपछि उनीहरु सिधै प्रचण्ड निवासको मूलढोकामा धर्ना दिन पुगे । बर्हिगमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्षसमितिका सचिव भीमबहादुर तामाङका अनुसार पटक पटक ज्ञापनपत्र बुझाउन समय मिलाउन भन्दा पनि सुनुवाई नभएपछि सिधै पुगेका हौं ।
मूलढोका नछाड्ने अडानपछि प्रचण्डले भोलि पेरिसडाँडामा बसौं भन्ने खबर पठाए । तर, बर्हिगमित लडाकुले मानेनन् । उनीहरु मूलढोका नछाड्ने अडानमै बसे । त्यसपछि प्रचण्डले बल्ल भेटको अनुमति दिए ।

संघर्षसमितिका इञ्चार्ज असिम लिम्बु सुनिल र उपाध्यक्ष राजन थापा प्रचण्डलाई भेट्न ढोकाभित्र छिरेका थिए । थापाले सात बुँदे ज्ञापनपत्र पढेर सुनाएका थिए । त्यसपछि प्रचण्डले आफू मागप्रति गम्भीर भएको बताएको भेटमा सहभागी थापाले बताए । यो विषय शान्तिप्रक्रियासँग जोडिएको विषय भएकाले टुंग्याउन आफू गम्भीर भएको जानकारी गराए ।

तस्बिर स्रोतः बर्हिगमित लडाकु



प्रतिक्रिया दिनुहोस्