Logo

बहिगर्मित जनमुक्ति सेना नेपालको तारोमा उर्जामन्त्री पुन, माग पूरा नगर्न भूमिका खेलेको गम्भिर आरोप (विज्ञप्तीसहित)



‘काठमाडौंमा सम्पन्न चौथो राष्ट्रिय सम्मेलनबाट पारित निर्णय तथा आगामी कार्यक्रमहरु सार्वजनिक’

रमेश बसेलको नेतृत्वमा १७ सदस्यीय केन्द्रिय पदाधिकारी निर्वाचित

काठमाडौं, १० माघ । बहिगर्मित जनमुक्ति सेना नेपालले आफूहरुमाथि लगाईएको कथित् अयोग्य बिल्ला तुरुन्तै खारेजी र औपचारिक कार्यक्रम गरी सम्मानयुक्त शब्दसहित राज्यद्वारा सम्मानपत्र र परिचयपत्र वितरण गर्न माग गरेको छ । उसले आफूहरुको माग पूरा नगर्नको लागि वर्तमान उर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ ले मुख्य भूमिका खेलेको पनि आरोप लगाएको छ ।

यही माघ ९ र १० गते काठमाडौंको सितापाईला पार्टी प्यालेसमा सम्पन्न भएको चौथो ऐतिहाँसिक राष्ट्रिय सम्मेलनबाट पारित निर्णय तथा आगामी कार्ययोजना सार्वजनिक गर्न रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बहिगर्मित जनमुक्ति सेना नेपालले यस्तो माग गरेको हो ।

निर्वाचित संर्घष समितिका कार्य समितिको नामावली सार्वजनिक गर्न यो प्रेस विज्ञप्ती जारी गरिएको छ । उक्त चौथो ऐतिहाँसिक राष्ट्रिय सम्मेलनले विभिन्न ७ बुँदे माग अघि सारेको छ । उसले अघि सारेका मागमा बहिर्गमित जनमुक्ति सेनालाई लगाईएको कथित् अयोग्य बिल्ला तुरुन्तै खारेजको साथै औपचारिक कार्यक्रम गरी सम्मानयुक्त शब्दसहित राज्यद्वारा सम्मानपत्र र परिचय पत्र वितरण गरिनुपर्ने, तत्कालीन ने.क.पा. माओवादी र नेपाल सरकारबीच भएको हतियार र सेना व्यवस्थापनको अनुगमन सम्झौता–२०६३ बमोजिम “दुवै पक्ष १८ वर्ष वा सो भन्दा मुनिका बालबालिकालाई सैन्य बलमा समावेश वा उपयोग नगर्न पूर्ण रुपमा सहमत छन् । यसरी प्रभावित बालबालिकाहरुको तुरुन्त उद्धार गरिनेछ र तिनीहरुको पुनः स्थापनाका लागि आवश्यक र उपयुक्त सहयोग प्रदान गरिनेछ ।” भन्ने बुँदालाई तत्काल कार्यान्वयन गरिनुपर्ने रहेका छन् ।

उसले अघि सारेका थप मागमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको बिद्येयकको बुँदा नं. ७ मुल ऐनको दफा १३ मा आयोगको काम, कर्तव्य र अधिकार (१) को (ज) मा उल्लेखित “बहिर्गमित लडाकुले प्राप्त गर्नुपर्ने परिपूर्ण तथा संरक्षणको लागि सिफारिस गर्ने” बुँदालाई पास गरि ऐन बनाईनुपर्ने, स्वेच्छिक अवकाश लिएको जनमुक्ति सेना सरह समय सापेक्षित एकमुष्ट आर्थिक प्याकेज दिइयोस् अथवा सो आर्थिक प्याकेज बराबर राज्यले नीति तथा कार्यक्रम ल्याई दीर्घकालीन व्यवस्थापन हुने गरी उचित क्षेत्रमा लगानी गरिनुपर्ने पनि रहेका छन् ।

नेपाल सरकार र बहिर्गमित जनमुक्ति सेना नेपालबीच विभिन्न चरणको वार्तामा भएका सहमतिहरु तत्काल कार्यान्वयन गरिनुपर्ने र जनयुद्ध, जन–आन्दोलन, बहिर्गमित जनमुक्ति सेना नेपालको आन्दोलन, मधेश आन्दोलन तथा अन्य प्रगतीशिल आन्दोलनका सम्पूर्ण घाईते तथा अपाङ्गहरुको औषधि उपचार सहित दीर्घकालीन व्यवस्था गरिनुपर्ने पनि उसको माग छ । उसले अघि सारेको अन्तिम मागमा शान्तिपूर्ण आन्दोलनको क्रममा राज्यद्वारा विभिन्न बहानामा पक्राउ परेका सम्पूर्ण बहिर्गमित जनमुक्ति सेनाहरुको बिना शर्त अबिलम्ब रिहाई गरिनुपर्ने रहेको छ ।

चौथो राष्ट्रिय सम्मेलनले नयाँ केन्द्रीय पदाधिकारीपनि निर्वाचन गरेको छ । नयाँ केन्द्रिय पदाधिकारीको सल्लाहाकार संयोजकमा लालचन्द्र वि.क. (दुर्याेधन) रहेका छन् । इन्चार्जमा भने असिम लिम्बु (सुनिल) निर्वाचित भएका छन् । अध्यक्षमा रमेश बसेल (करन), बरिष्ठ उपाध्यक्षमा योग्य बहादुर कार्की (प्रदिप), उपाध्यक्षमा खड्गबहादुर रम्तेल (सम्राट), उपाध्यक्ष तथा प्रवक्ता राजन मगर (सुवास), महासचिवमा कोपिला राई (कविता), उपमहासचिवमा राजकुमार राई (चट्टान), सचिवमा भिम बहादुर तामाङ(वेल्सन), मोतिसरा खड्का (मनिषा), अनिता परियार (पूर्णिमा), गोपाल बस्नेत (सन्तोष) निर्वाचित भएका छन् ।

त्यस्तै, सहसचिवमा सविन पुन (सर्मण), शारदा राई(सामना), पुष्कर सेढाँई (ज्वाला), रेमबहादुर पुन (विश्वास) निर्वाचित भएका छन भने कोषाध्यक्षमा भक्त रोकाय निर्वाचित भएका छन् ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष रमेश बसेल (करण) ले आफूहरु अघि सारेका मागहरु तत्काल पूरा गर्नुपर्ने बताए । यदि समयमै माग पूरा नगरे आफूहरु कानूनी उपचारमा लाग्ने पनि स्पष्ट पारे ।

उनले भने,‘हाम्रा माग पूरा नगरे हामी कानूनी उपचार गर्न खोज्न बाध्य हुन्छौं । हाम्रो माग पूरा नभए हामी अन्तर्राष्ट्रियस्तरमा पनि पुग्ने जानकारी गराउँछौं ।’ त्यस्तै, उनले अमेरिकी सहयोग एमसीसी कुनैपनि हालतमा संसदबाट पारित गर्न नहुने जिकिर गरे । उनले एमसिसी खारेजीको माग गरेका हुन् ।

कार्यक्रममा नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष योग्य बहादुर कार्की (प्रदीप’ ले आफूहरुको माग र मुद्दा सम्बोधन नगर्नको लागि वर्तमान उर्जामन्त्री वर्षमान पुनले नै भूमिका खेलेको आरोप लगाए । उनले भने,‘वर्तमान उर्जामन्त्री वर्षमान पुन त पूर्व जनमुक्ति सेनाका डेपुटी कमाण्डरसमेत हुन् । हाम्रो विषयमा त्यतिवेला सम्झौता गर्ने व्यक्ति नै उहाँ हुनुहुन्थ्यो, अहिले सम्झौता कार्यान्वयन नगर्नेबारे पनि उहाँले नै भूमिका खेल्नुभएको छ ।’

‘आफूहरुसँग जोडिएको एक जना व्यक्तिलाई मन्त्रालयमा जागिर खुवाउँदैमा हामी चार हजार ९ जना बर्हिगमित जनमुक्ति सेनाको भलो हुँदैन्’–उनले भने,‘उर्जामन्त्रीले एक जनालाई मात्रै काखी च्यापेर समस्याको समाधान हुँदैन् । मन्त्रीज्यूको म यहीँबाट ध्यानकार्षण गराउन चाहन्छु ।’

कार्यक्रममा सल्लाहाकार संयोजक लालचन्द्र वि.क. (दुर्याेधन) ले देशमा हुने सबैखाले राष्ट्रघाती सम्झौताको विरुद्धमा आफूहरु सशक्त हुने बताउँदै एमसिसीपनि कुनैपनि हालतमा संसदबाट पारित नगर्न चेतावनी दिएका छन् ।

कार्यक्रममा नवनिर्वाचित उपाध्यक्ष तथा प्रवक्ता राजन थापा (सुवास) ले पत्रकार सम्मेलनमा प्रेस विज्ञप्तीको वाचन गरेका थिए भने कार्यक्रमको सञ्चालन भने सचिव भिम बहादुर तामाङले गरेका थिए ।

मिति : २०७६।१०।१०

प्रेस विज्ञप्ति

हाम्रो महान तथा गौरवशाली संगठन बहिर्गमित जनमुक्ति सेना नेपालले आफ्नो स्वाभिमान, पहिचान, न्याय र हक अधिकार सुनिश्चित गर्नका निमित्त र शान्ति प्रक्रियालाई पूर्णता दिने उद्देश्य सहित स्थापना काल देखि हालसम्म निरन्तर सम्बन्धीत र सरोकारवाला निकायहरुलाई ध्यानाकर्षण गराउनका लागि ज्ञापन पत्र, निवेदन, अन्तरक्रिया, पत्रकार सम्मेलन लगायत विभिन्न प्रकारका शान्तिपूर्ण आन्दोलनका कार्यक्रमहरु गर्दै आएका छौँ । यस क्रममा नेपाल सरकार र पार्टीसँग पटक पटक वार्ता छलफल तथा संवाद् र सहमतिहरु भए तर उक्त सहमतिहरु कार्यान्वयनको निम्ती नभएर हाम्रो न्यायपूर्ण आन्दोलनलाई निस्तेज पार्ने र जनताको मुक्तिका निमित्त लड्ने जनमुक्ति सेनालाई निरास पारी उत्तेजित बनाउनको साथै विभिन्न बहानामा अस्तित्व नै समाप्त पार्ने षड्यन्त्रमा भएको कारण हाम्रो संघार्ष कहिले उचाइमा त कहिले गहिराईमा पु¥याउने कामहरु भए । यस्तो किसिमको रबैयाले गर्दा देश दन्द्वमा जाने संकेत भएकोले तत्काल विगतमा भएका सम्झौताहरु कार्यान्वयन गर्न दवाव दिन र बहिर्गमित जनमुक्ती सेना नेपालको यहि मिति २०७६ माघ ९ र १० गते काठमाडाँैको सितापाईला पार्टी प्यासेलमा सम्पूर्ण बहिर्गमित जनमुक्ती सेनाहरु एक हाँै निर्णय संघर्षको तयार गराँै भन्ने मुल नाराका साथ सम्पन्न भएको चौथो ऐतिहासिक राष्ट्रिय सम्मेलनबाट पारित निर्णय तथा आगामि कार्ययोजना र निर्वाचित संर्घष समितिका कार्य समितिको नामावली सार्वजनिक गर्न यो प्रेस विज्ञप्ती जारी गरिएको छ ।

निर्णयहरु: 
१. सातवटै पुर्व डिभिजन तथा सबै जिल्ला र प्रदेशको प्रतिनिधिहरुको सहभागिमा संगठनका अध्यक्ष रमेश बसेलको सभा अध्यतामा ने.क.पा. क्रान्तिकारी माओवादीका बरिष्ठ नेता सिपि गजुरेल ज्यू को प्रमुख अतिथि र विशेष अतिथि माननीय पूर्व गृहमन्त्री जनार्दन शर्मा ज्यू, को आतिथ्यतामा उद्घाटन समारोह सम्पन्न गरियो ।
२. सात वटै पूर्व डिभिजन तथा सबै जिल्ला प्रदेशका प्रतिनिधिहरुको सहभागिमा चौथो राष्ट्रिय सम्मेलन भव्य रुपमा सम्पन्न भई सम्मेलनमा व्यापक छलफल विश्लेषण र संश्लेषण सहित संगठनको संरक्षक जीग्मी सल्लाहाकार संयोजकमा लालचन्द्र वि.क. (दुर्याेधन), इन्चार्ज असिम लिम्बु (सुनिल) र रमेश बसेल (करण) को अध्यक्षतामा १७१ केन्द्रीय कार्यसमिति गठन गरियो ।
३. पूर्व इन्चार्ज समेत रहेका लेलिन विष्टलाई पूर्व केन्द्रीय कमिटिले कार्वाहि गर्ने निर्णयको प्रस्तावलाई चौथो राष्ट्रिय सम्मेलनद्धारा पारित गरियो ।
४. वहिर्गमित जनमुक्ती सेना नेपालका विगतदेखि हालसम्मको संघर्षलाई तुहाउने ने.क.पा.का नेता तथा नेपाल सरकारका माननीय उर्जामन्त्री समेत रहेका बर्षमान पुन अन्नतको हात रहेको हाम्रो संगठनको विश्लेषण छ ।

५. आगामी कार्ययोजनाहरु :
(क) बहिर्गमित जनमुक्ति सेना नेपालले उल्लेख गरेका मागहरु पुरा गर्नको लागि शान्ति सम्झौताको हस्ताक्षरकर्ता र सहभागी दलहरु, राज्य तथा विभिन्न निकायसँग वार्ता, छलफल र कानूनी परामर्श गर्ने ।
(ख) सम्बन्धीत र सरोकारवाला निकाय समक्ष ज्ञापनपत्र बुझाउने ।
(ग) सर्वदलीय गोलमेच बैठक गर्ने ।
(घ) संगठनलाई व्यापक बनाउन र सुदृढिकरण गर्न सातै वटा प्रदेशमा प्रदेश स्तरिय भेला गर्ने ।
(ङ) देशव्यापी रुपमा अन्तत्रिया कार्यक्रम गर्ने ।
(च) सम्पूर्ण द्वन्दपीडितहरुसँग कार्यगत एकता गरी संघर्षको तयारी गर्ने ।
(छ) व्यूरोक्रेसी, शिक्षा, स्वास्थ्य, वैदेशिक रोजगार, विकास निर्माण तथा नेपाल सरकारको कुनै पनि निकायमा हुने गरेको भ्रष्टाचार, अनियमितता, कमिसनखोर र ज्यादतीको भण्डाफोर गरी कारबाही गर्ने ।
(ज) राष्ट्र, राष्ट्रियता, जनजिविका र जनसरोकारका विषयहरु जोडदार उठान गर्ने ।
(झ) समृद्धि नेपाल निर्माण र खुशी नेपाली बनाउने लक्ष्य सहित सामाजिक काममा जनताको विकाससँग जोडिने ।
(ञ) समाजमा हुने गरेको व्याप्त भष्ट्राचार, बलात्कार, कुरिती, विभिन्न खाले विभेद, कू–संस्कार, विसंगति, अन्धविश्वास तथा अनुचित व्यवहारहरुको भण्डाफोर गर्ने ।
(ट) प्रचारमा आएको एम.सि.सि. लाई कुनै पनि हालतमा नेपाल सरकारलाई कार्यान्वयन नगर्न दवाव सहित घोर भर्सना गर्ने ।

हाम्रा मागहरु :

(१) बहिर्गमित जनमुक्ति सेनालाई लगाईएको कथित् अयोग्य बिल्ला तुरुन्तै खारेजको साथै औपचारिक कार्यक्रम गरी सम्मानयुक्त शब्दसहित राज्यद्वारा सम्मानपत्र र परिचय पत्र वितरण गरियोस् ।
(२) तत्कालीन ने.क.पा. माओवादी र नेपाल सरकार बीच भएको हतियार र सेना व्यवस्थापनको अनुगमन सम्झौता २०६३ बमोजिम “दुवै पक्ष १८ वर्ष वा सो भन्दा मुनिका बालबालिकालाई सैन्य बलमा समावेश वा उपयोग नगर्न पूर्ण रुपमा सहमत छन् । यसरी प्रभावित बालबालिकाहरुको तुरुन्त उद्धार गरिनेछ र तिनीहरुको पुनः स्थापनाका लागि आवश्यक र उपयुक्त सहयोग प्रदान गरिनेछ ।” भन्ने बुँदालाई तत्काल कार्यान्वयन गरियोस् ।
(३) बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको बिद्येयकको बुँदा नं. ७ मुल ऐनको दफा १३ मा आयोगको काम, कर्तव्य र अधिकार (१) को (ज) मा उल्लेखित “बहिर्गमित लडाकुले प्राप्त गर्नुपर्ने परिपूर्ण तथा संरक्षणको लागि सिफारिस गर्ने” बुँदालाई पास गरि ऐन बनाईयोस् ।
(४) स्वेच्छिक अवकाश लिएको जनमुक्ति सेना सरह समय सापेक्षित एकमुष्ट आर्थिक प्याकेज दिइयोस् अथवा सो आर्थिक प्याकेज बराबर राज्यले नीति तथा कार्यक्रम ल्याई दीर्घकालीन व्यवस्थापन हुने गरी उचित क्षेत्रमा लगानी गरियोस् ।
(५) नेपाल सरकार र बहिर्गमित जनमुक्ति सेना नेपाल बीच विभिन्न चरणको वार्तामा भएका सहमतिहरु तत्काल कार्यान्वयन गरियोस् ।
(६) जनयुद्ध, जन–आन्दोलन, बहिर्गमित जनमुक्ति सेना नेपालको आन्दोलन, मधेश आन्दोलन तथा अन्य प्रगतीशिल आन्दोलनका सम्पूर्ण घाईते तथा अपाङ्गहरुको औषधि उपचार सहित दीर्घकालीन व्यवस्था गरियोस् ।
(७) शान्तिपूर्ण आन्दोलनको क्रममा राज्यद्वारा विभिन्न बहानामा पक्राउ परेका सम्पूर्ण बहिर्गमित जनमुक्ति सेनाहरुको बिना शर्त अबिलम्ब रिहाई गरियोस् ।

चौथो राष्ट्रिय सम्मेलनबाट निर्वाचित केन्द्रीय पदाधिकारीको नामावली

संरक्षक : जिग्मी, सल्लाहाकार संयोजक : लालचन्द्र वि.क. (दुर्याेधन)

१. इन्चार्ज :– असिम लिम्बु (सुनिल)
२. अध्यक्षः– रमेश बसेल (करन)
३. बरिष्ठ उपाध्यक्ष :– योग्य बहादुर कार्की (प्रदिप)
४. उपाध्यक्ष : – खड्ग बहादुर रम्तेल (सम्राट)
५. उपाध्यक्ष तथा प्रवक्ता :– राजन मगर (सुवास)
६. महासचिव :– कोपिला राई (कविता)
७. उपमहासचिव :– राजकुमार राई (चट्टान)
८. सचिव :– भिम बहादुर तामाङ(वेल्सन)
९. सचिव :– मोतिसरा खड्का (मनिषा)
१०. सचिव :– अनिता परियार (पूर्णिमा)
११. सचिव :– गोपाल बस्नेत (सन्तोष)
१२. सहसचिव :– सविन पुन(सर्मण)
१३. सह सचिव :– शारदा राई(सामना)
१४. सहसचिव :– पुष्कर सेडाई (ज्वाला)
१५. सहसचिव :– रेमबहादुर पुन (विश्वास)
१६. कोषाध्यक्ष :–भक्त रोकाय

असिम लिम्बु (सुनिल)इन्चार्ज

रमेश बसेल(करन)
अध्यक्ष
बहिर्गमित जनमुक्ति सेना नेपाल
धन्यवाद !



प्रतिक्रिया दिनुहोस्