Logo

दिपक मनाङे भर्सेस मिलन गुरुङ



पोखरा, १० माघ । प्रदेशसभा सांसद दिपक मनाङे र एन्फा कास्की अध्यक्ष मिलन गुरुङबीचको विवादले त्यस क्षेत्रको गुण्डागर्दीको फेहरिस्ताहरु बाहिर आउन थालेका छन् । प्रहरीले मनाङे र मिलन दुवैलाई पक्राउ गरेर छानविन गर्न थालेको छ ।

मुख्यमन्त्री कपको व्यवस्थापनको विषयलाई लिएर मनाङेले मिलनलाई कुटेपछि विवाद प्रहरीसम्म पुगेको हो । मिलनले प्रहरीमा किटानी जाहेरी दिएपछि मनाङे बिहिबार पक्राउ परेका छन् । त्यसको भोलिपल्ट शुक्रबार मिलन पनि पक्राउ परेका छन् ।

मनाङे काठमाडौं केन्द्रित डनका रुपमा परिचित छन् । उनी तत्कालिन नेकपा एमालेको समर्थनमा मनाङबाट प्रदेशसभा सांसदमा निर्वाचित भएका हुन् । मिलन गुरुङ पोखरामा नाम चलेको समूहको नाइके हुन् । उनीमाथि रकम लेनदेन देखि झगडाहरुमा संलग्न भएको आरोप छ । यसकारण पनि मुख्यमन्त्री कपमा मनाङेको मिलनसँग भएको झगडालाई खेल व्यवस्थापनसँग मात्र सिमित राख्न नमिल्ने बताइँदैछ ।

पोखरा क्षेत्रमा पकड जमाउने र समूह राख्ने प्रतिष्पर्धामा यी दुई पनि देखिएका छन् । अब प्रहरीमा उनीहरुको विषय पुगेकाले धेरै विषय बाहिर आउने सम्भावना देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्