Logo

कांग्रेसको विवाद समाधान, देउवा–पौडेलबीच सहमति



माघ १०, काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भित्रको आन्तरिक विवादले समाधानको बाटो पहिल्याएको छ । शुक्रबार बिहानैदेखि सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा भएको शीर्ष नेताहरुबीचको बैठकले लामो समयदेखि पार्टीभित्र देखिएको विवाद समाधानको संकेत गरेको हो ।

सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच विवादित अधिकांश विषयमा सहमति जुटेको छ । आजको बैठकमा महाधिवेशनको कार्यतालिका यथावत राखी अन्य विषयलाई केन्द्रिय समिति बैठकमा छलफलको लागि लैजान देउवा सहमत भएकोे बैठकमा सहभागी रमेश लेखकले जानकारी दिए ।

पुस ११ गतेको केन्द्रीय कार्यसमितिको बैठकले बहुमतको आधारमा पार्टीको १४ औं महाधिवेशन आगामी बर्षको फागुनमा गर्ने, तरुण दलको म्याद ६ महिना थप गर्ने, पार्टीको २८ केन्द्रिय विभागलाई बढाएर ४१ बनाउने लगायतका निर्णय गरेको थियो । त्यस यता पौडेल पक्षधरले निरन्तर केन्द्रिय बैठक समेत बहिष्कार गर्दै आएका थिए भने दुइपक्ष विच पटक–पटक सहमतीको प्रयास भएपनि असफल हुदै आएको थियो ।

बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला, पूर्णबहादुर खड्का, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, रमेश लेखक लगायतका नेताहरु उपस्थिती थियो । यसैबीच काँग्रेसले आगामी माघ १३ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको पनि नेता लेखकले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्