Logo

उपसभामुख र दुई मन्त्री दिएर राजपालाई सरकारमा ल्याउने ओलीको रणनीति



काठमाडौं, ११ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र कुन दललाई उपसभामुख दिने भन्नेबारे मतभेद भएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्ड केपी शर्मा ओली राष्ट्रिय जनता पार्टीलाई उपसभामुखमा सघाउने पक्षमा छन् । तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल नेपाली काँग्रेसलाई उपसभामुख दिने पक्षमा उभिएका छन् ।

सभामुखमा अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित हुने निश्चित भइसकेपछि उपसभामुखमा राजपा या काँग्रेस कस्लाई दिनेबारे नेकपाभित्र मतभेद भएको हो । प्रधानमन्त्री ओली राजपालाई सरकारमा ल्याउने गरी प्याकेजमा सहमति बनाउने पक्षमा छन् । राजापालाई दुई मन्त्रालय, उपसभामुख, प्रदेश दुईको सरकारको नेतृत्व दिएर सरकारमा ल्याउन ओलीले रणनीति बनाएका छन् ।

राजपाभित्र अध्यक्षमण्डलका नेता राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिलकुमार झा र राजकिशोर यादव सरकारमा जाने पक्षमा छन् । वर्तमान संयोजक महेन्द्र राय यादव र महन्थ ठाकुर सरकारमा गइहाल्न नहुने पक्षमा छन् । राजपाभित्र सरकारमा जाने र नजाने विषयमा मतभेद बढेको छ । प्रधानमन्त्री ओली भने समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि राजपालाई सरकारमा ल्याएर दुई तिहाईको सरकार बनाउने पक्षमा छन् ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार राजपा सरकारमा आउने सम्भावना बढेको छ । त्यसका लागि उनले आन्तरिक तयारी लगभग पूरा गरिसकेका छन् । राजपा सरकारमा आएमा मधेश केन्द्रित दलहरुबीच गठबन्धन तोडिने सम्भावना देखिएको छ । यसअघि राष्ट्रियसभा निर्वाचनमा नेकपा र राजापाबीच गठबन्धन बनेको थियो । दुवै दल मिलेर चुनाव लड्दा गठबन्धनले क्लिन स्विप गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्