Logo

बङ्गलादेशमा अपाङ्गतासम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन शुरु



काठमाडौं, माघ ११ । अपाङ्गता र उनीहरुको क्षमता विकासका लागि विश्वमा भइरहेको अभ्यास तथा चुनौतीका विषयमा छलफल गर्न ‘विकासात्मक अपाङ्गता’ सम्बन्धी सातौँ अन्तरराष्ट्रिय सम्मेलन बङ्गलादेशको राजशाहीमा शुरु भएको छ ।

अपाङ्गताको क्षेत्रमा भएका गतिविधिका बारेमा आफ्ना अनुभव साटासाट गर्न नेपाललगायत विभिन्न देशका मनोचिकित्सक, मनोविद्, विज्ञ तथा मनोविज्ञानको क्षेत्रमा काम गरिरहेका व्यक्ति र अध्ययनकर्ता उक्त सम्मेलनमा सहभागी छन् ।सम्मेलनमा नेपाललगायत मलेसिया, चीन, स्पेन, बङ्गलादेश, अमेरिका, भारत, जापान, पोर्तुगल, श्रीलङ्का र स्वीडेनका ५०० भन्दा बढी प्रतिनिधि छन् ।

अपाङ्गता भएकाको मानसिक स्वास्थ्यको अवस्था के छ, उनीहरुको अबस्थामा कसरी सुधार गर्न सकिन्छ, त्यस विषयमा एकअर्का देशको अबस्था के छ र कसरी काम भइरहेको छ भन्ने विषयमा अनुभव साटासाट तथा आएका चुनौतीलाई सामनाका लागि उपायको खोजीमा सम्मेलन केन्द्रित छ ।

आयोजक सामाजिक वैयक्तिक विकासका लागि सहकार्य सिभ्यूस इन्टरनेशनलका अन्तरराष्ट्रिय अध्यक्ष डा काट्सुहिरो यामासिताले अपाङ्गता भएका व्यक्ति, उनीहरुको अभिभावक र संरक्षणकर्ताको सार्थक जीवनका लागि महत्वपूर्ण योगदान गर्ने सम्मेलनको मुख्य उद्देश्य रहेको बताए । विकासात्मक अपाङ्गतासँग सम्बन्धित निदानात्मक पक्षलाई भेलाले उपयुक्त तरिकाले सम्बोधन गर्ने अपेक्षा रहेको उनको भनाई रहेको छ ।

अपाङ्गताको क्षेत्रमा काम गर्ने सिभ्युस इन्टरनेशनल सन् १९७४ मा स्थापना भएको संस्था हो । संस्थाले अपाङ्गता भएकाको मानसिक स्वास्थ्य र उनीहरुको व्यवस्थापन र क्षमता विकासमा सहकार्यात्मक क्रियाकलापलाई जोड दिँदै आएको छ ।

यसले सन् १९९३ मा नर्वेमा पहिलो सम्मेलन गरेको थियो । सन् १९९७ मा जापान, २००२ र २०१८ मा भारतको कोलकातामा सन् २००९ र २००६ मा बङ्गलादेशको राजधानी ढाकामा कार्यक्रम भएको थियो । विश्वव्यापी रुपमा अपाङ्गता भएका व्यक्तिको मानसिक स्वास्थ्यसँगै उनीहरुको गुणस्तरीय जीवन निर्माण गरी मानवअधिकार संरक्षणको विषयमा संस्थाले काम गर्दै आएको छ । रासस



प्रतिक्रिया दिनुहोस्