Logo

ईरानी आक्रमणबाट ३४ अमेरिकी सैनिकको मस्तिष्कमा चोट



ईरानले इराकस्थित अमेरिकी सैनिक क्याम्पमा गरेको आक्रमणबाट ३४ अमेरिकी सैनिकको मस्तिष्कमा चोट पुगेको खुलेको छ । पेन्टागनले ३४ अमेरिकी सैनिकलाई मस्तिष्कमा चोट पुगेको र त्यसमध्ये १७ जना अझै निगरानीमा राखिएको उल्लेख गरेको छ । तर, घटनामा कुनैपनि अमेरिकी सैनिकको मृत्यु नभएको पेन्टागनको भनाई रहेको छ ।

पेन्टागनको प्रवक्ताले यस्तो बताएपनि ईरानले अमेरिकी सैनिक हमलामा मारिएको दाबी गर्दै आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रत्यक्ष निर्देशनमा ईरानका सैनिक कमाण्डर कसिम सुलेमानीको ड्रोन हमलामा हत्या भएपछि बदलास्वरुप ईरानले अमेरिकी सैनिक क्याम्पमा आक्रमण गरेको थियो । आक्रमणबाट अमेरिकी सैनिकलाई कुनै क्षति नपुगेको दाबी ट्रम्पले गरेका थिए । तर, उक्त आक्रमणबाट अमेरिकी सैनिकहरुको मस्तिष्कमा क्षति पुगेको खुलेको छ ।

सैनिकहरुलाई नियमित टाउको दुख्ने समस्या भइरहेको खुलेको छ । तर, चोट गम्भीर नभएको बताइएको छ । पछिल्लो समय ईरान-अमेरिकाबीच टकरावको अवस्था छ ।- एजेन्सी



प्रतिक्रिया दिनुहोस्