Logo

बागमति सरसफाई अभियानको ३५० औँ हप्ता, के भयो अहिलेसम्म ?



माघ ११, काठमाण्डौ । बागमती सभ्यताको पुनर्जागरणका लागि सञ्चालित बाग्मती सफाइ महाअभियान सात वर्षदेखि जारी छ । काठमाण्डौ उपत्यकामा जनसंख्या र शहरीकरण बढेसँगै बागमति नदि दुर्गन्धित बन्दै गएको छ । काठमाण्डौका सभ्यता मानिने बागमतिलाई सफा बनाउने अभियान उदाहरणीय त बनेको छ, तर अपेक्षाकृत सफलता भने प्राप्त भएको छैन ।

बागमती सफाई महाभियानको ३५० औं हप्तामा आइपुग्दासम्म १२ हजार टन फोहोर उठाइएको छ । ७ वर्ष अगाडीबाट सुरु भएको अभियानको शनिबार ३५० औं हप्ता पुगेको छ । ३५० औं हप्तासम्म आइपुग्दा १० लाखभन्दा बढी स्वयमसेवक बागमती सरसफाई महाअभियानमा सहभागि भएका छन् ।

वि.स. २०७० सालबाट सुरु गरिएको बागमती सरसफाई महाअभियानको ३५० औं हप्तामा आजपनि बागमतीको सरसफाई गरिएको छ । २०७० जेठ ५ गते गुह्येश्वरी मन्दिरको प्राङ्गणबाट महाअभियानको सुरुवाता गरिएको थियो । अभियान सुरु भएपछि बागमतीका शाखा नदीहरु विष्णुमति, धोवीखोला, हनुमन्ते, मनोहरा, गोदावरी, बल्खु एवं चक्रपथका बिभिन्न स्थान तथा भित्री टोलहरुमा समेत सरसफाई थालिएको छ । उपत्यका बाहिर पनि अभियान सञ्चालन भइरहेको छ ।

उपत्यका बाहिर करिब ९० स्थान भन्दा बढी शहर बजारमा स्थानीयबासीको सहभागितामा सफाइ कार्यक्रमहरु संचालन भइरहेको छ । ३५० हप्तामा महाअभियान प्रवेश गरेको विशेष अवशरमा काठमाडौं महानरपालिका वडा नम्बर ११ ले स्वच्छता र सरसफाइका लागि २४ बुँदे अवधारणा सार्वजनिक गरेको छ । शनिवार बागमती नदी सरसफाइ महाअभियानको ३५० औं हप्ताको बिशेष कार्यक्रममा वडाध्यक्ष हीरालाल तण्डुकारले अवधारणा सार्वजनिक गर्नुभएको हो ।

वडाले अघि सारेको अवधारणामा अबको २ बर्षभित्र ५ वटा सार्वजनिक शौचालय र आवश्यकताका आधारमा घुम्ती शौचालय निर्माण गर्ने, बसन्तनगर रुद्रमती किनार र त्रिपुरेश्वर कुमारी मार्गमा ‘जेष्ठ नागरिक मनोरञ्जन पार्क’ निर्माण गर्ने योजनाहरु समेटिएका छन् । त्यसैगरी यहि बर्ष चेस पार्कको निर्माण सम्पन्न गर्ने, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत बिकास समितिसँग मिलेर प्रसुति गृह पछाडिको करीब ५८ रोपनी जग्गामा हरियाली कायम गर्ने लगायतका योजना पनि छन् ।

यस्तै घरपालुवा कुकुरलाई सार्वजनिक स्थलमा दिशा पिसाब गराउने व्यवहार नियन्त्रण गर्ने, सार्वजनिक जग्गा संरक्षण गरी सार्वजनिक उपयोगमा ल्याउने, तरल फोहोर प्रशोधनका कार्यक्रम सञ्चालन गर्ने, अव्यवस्थित बस्तीलाई व्यवस्थित गर्ने तथा अतिक्रमित जग्गालाई संरक्षण गर्ने बिषय समेटिएका छन् ।

बागमतिलाई पुरानै अवस्थामा अर्थात स्वच्छ बनाउने लक्ष्यसहित ७ वर्ष अघि सुरु भएको सरसफाई अभियानको उपलब्धि भने अपेक्षा गरे जस्तो छैन । यद्यपी यो अभियान देशकै एउटा नमुना अभियानको रुपमा स्थापित भएको छ ।



प्रतिक्रिया दिनुहोस्