Logo

सुदूरपश्चिममा प्रत्येक तीन दिनमा चारको ज्यान जान्छ



काठमाडौँ, १२ माघ । सुदूरपश्चिम प्रदेशमा आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ। तीन आर्थिक वर्षको तथ्यांक हेर्दा आत्महत्या गर्नेको संख्या बढिरहेको छ। सुदूरपश्चिममा औसतमा प्रत्येक तीन दिनमा चारजनाले आत्महत्या गरेको तथ्यांक छ।

गरिबी, पारिवारिक र सामाजिक सम्बन्धमा उतारचढाव तथा मानसिक समस्याका कारण आवेगमा आई आत्महत्या गर्ने बढ्दै गएको विश्लेषण गरिएको छ। कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डा. हेमराज पन्त आत्महत्या चिन्ताजनक ढंगले बढ्नुमा आर्थिक र सामाजिक कारणलाई मुख्य ठान्छन्। ‘गरिबीलगायत कारणले युवा डिप्रेसनमा जान्छन। निरासाका कारण आत्महत्या गर्ने बढ्दै गएका हुन्,’ उनी भन्छन्, ‘बढ्दो आत्महत्या सामाजिक समस्या हो।’ आत्महत्या कम गर्न विद्यालय तहदेखि नै मनोपरामर्श दिइनुपर्ने उनको भनाइ छ। सञ्चारलगायत प्रविधिको पहुँचले सबै जानकारी हुने तर गरिबीले आवश्यकता पूरा गर्न समस्या हुँदा मानिसमा निरासा बढेको उनी बताउँछन। ‘समाजमा हुने सामाजिक र आर्थिक विभेद अन्त्य, मानसिक समस्याको उपचार, जनचेतना, मनोपरामर्श, रोजगारी सिर्जना जस्ता कार्यक्रम राज्यले ल्याउन सके आत्महत्या न्यूनीकरण गर्न सकिन्छ ’

नागरिक समाजका अगुवा धर्मराज पाठक पनि कैलालीमा आत्महत्या दर बढ्दै गएको बताउँछन्। उनी आत्महत्या बढ्नुको भित्री कारण मानसिक समस्या ठान्छन्। ‘गरिबी, पारिवारिक र सामाजिक सम्बन्ध पनि आत्महत्याका कारण हुन्,’ उनले भने, ‘बाहिर पारिवारिक झैझगडा, ऋण तिर्न नसकेर वा अन्य कारण देखिए पनि भित्री कारण मानसिक समस्या भएर नै देखिन्छ।’ कुनै न कुनै रुपमा २५देखि ३० प्रतिशत मानिसमा मानसिक समस्या भएको अध्ययनले देखाएको उनले बताए। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दीपायलको तथ्यांक अनुसार प्रदेशमा औसतमा दैनिक एकजनाभन्दा बढीले आत्महत्या गरेको देखिन्छ। आर्थिक वर्ष २०७३/०७४ मा चार सय ३२ जना, ०७४ र ०७५ मा चार सय ९९ र ०७५ र ०७६ मा पाँच सय तीन जनाले आत्महत्या गरेको तथ्यांक प्रदेश प्रहरी कार्यालयसँग छ।

यो तथ्यांकलाई औसतमा हेर्ने हो भने प्रत्येक तीन दिनमा चारजनाले आत्महत्या गरेको देखिन्छ। चालु आर्थिक वर्षको हालसम्म दुई सय आठजनाले आत्महत्या गरेका छन्। १५ जनालाई आत्महत्या दुरुत्साहनको मुद्दा चलाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक तारणीप्रसाद लम्सालले बताए।
नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्