Logo

विधानविपरीतकै कदमलाई समर्थन



काठमाडौँ, १२ माघ । कांग्रेसमा भागबन्डा मिलेपछि विधानविपरीतका निर्णयमा समेत संस्थापनइतर पक्षले सभापति शेरबहादुर देउवालाई सघाउने भएको छ । विधानसम्मत निर्णयको माग गर्दै आएको इतरपक्षले विधानविपरीत नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यसमिति गठन गर्ने बाटो खुला गरिदिएको हो ।

देउवाको बूढानीलकण्ठस्थित निवासमा शुक्रबार भएको छलफलमा संघको पदाधिकारीसहित सदस्यहरूको भागबन्डा भएको थियो । ३२ वर्ष उमेरभन्दा मुनिकाले मात्रै नेतृत्व गर्न पाउने गरी एक वर्षअघि नै संघको विधानलाई पार्टीको केन्द्रीय कार्यसमितिले अनुमोदन गरी कार्यान्वयनमा ल्याइसकेको छ । त्यही विधानअनुसार डेढ दर्जनभन्दा बढी जिल्लामा अधिवेशन भइसकेको छ । तर, संघको केन्द्रीय कार्यसमिति सभापतिमा ५० वर्ष उमेर हाराहारीका राजीव ढुंगानालाई ल्याउने समझदारी नेताहरूले गरेका छन् । ढुंगाना संघका पूर्वउपाध्यक्ष हुन् । संस्थापन निकट रहेका ढुंगानालाई संघको नेतृत्वमा ल्याउन धेरै समय अघिदेखि देउवा लागिपरेका थिए । भागबन्डा नमिलेर इतरपक्ष विरोधमा उत्रिएपछि देउवाले संघ गठन गर्न सकेका थिएनन् ।

शुक्रबार समझदारी भएपछि देउवा केही दिनमै ढुंगाना नेतृत्वमा संघ गठन गर्ने तयारीमा छन् । देउवाले संस्थापन इतरपक्षलाई पदाधिकारीसहित केन्द्रीय सदस्यमा ६० प्रतिशत हिस्सा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षलाई दिएर सहमति गरेका हुन् । पार्टीभित्र समझदारी नगरी विधानविपरीतका निर्णय लिन अप्ठ्यारो परेपछि देउवा भागबन्डामा लचिलो बनेका हुन् ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्