Logo

३५ सय मिटरमा ध्वाँसे चितुवा



काठमाडौँ, १२ माघ । लाङटाङ राष्ट्रिय निकुञ्जको करिब ३५ सय मिटर उचाइमा ध्वाँसे चितुवा रहेको पत्ता लागेको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ता ओगन इम्रे क्यान नेतृत्वको टोलीले समुद्री सतहबाट ३४९८ मिटर उचाइको लाङटाङको हिमाली क्षेत्रमा ध्वाँसे चितुवा रहेको पत्ता लगाएका हुन् ।

अंग्रेजीमा ‘क्लाउडेड लियोपार्ड’ भनिने रातको समयमा बढी सक्रिय हुने यो वन्यजन्तु यसअघि २३ सय मिटर उचाइसम्म मात्र भेटिएको थियो । ‘करिब ३५ सय मिटर उचाइको हिमाली क्षेत्र लाङटाङमा ध्वाँसे चितुवा रहेको पत्ता लगाउन सफल भयौं,’ अनुसन्धानकर्ता क्यानले ट्वीटरमा लेखेका छन्, ‘यो विश्वकै लागि नयाँ हो ।’

नेपालमा गरिएको अनुसन्धानबारे क्यानसहित लाङटाङ निकुञ्जका सहायक वार्डेन भूपेन्द्र यादव र अक्सफोर्ड विश्वविद्यालयका पल जोन्सन, जोन्ना रोस, नेल डि क्रज र ड्याभिड म्याकडोनाल्डले ‘बायोडाईभर्सिटी एन्ड कन्जरभेसन’ जर्नलमा आलेखसमेत प्रकाशन गरेका छन् । अक्सफोर्ड विश्वविद्यालयसहितका विशेषज्ञको टोलीले अनुसन्धानबारे विश्लेषण गर्न बढी समय लगाएकाले ५ वर्ष ढिलो गरी अनुसन्धानको परिणाम सार्वजनिक भएको हो ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्