Logo

कोरोना भाइरसको प्रभाव चिनियाँ पर्यटकमा, रद्द गर्दे बुकिङ



पोखरा, माघ १२ । पर्यटन बोर्डद्वारा हालै प्रकाशित तथ्यांक अनुसार सन् २०१९ मा नेपाल भित्रिएकामध्ये सबैभन्दा बढी विदेशी पाहुना भारतीय मूलका थिए। भारतीयपछि दोस्रो नम्बरमा चिनियाँ पर्यटकको हिस्सा छ। २०१९ मा नेपाल भित्रिएका भारतीयको संख्या दुई लाख ५४ हजार छ। चिनियाँको संख्या एक लाख ६८ हजार छ।

सन् २०१८ मा पनि नेपालको पर्यटन क्षेत्रमा चिनियाँको हिस्सा दोस्रो नम्बरमै थियो। २०१८ मा नेपाल भित्रिने चिनियाँको संख्या एक लाख ५३ हजार थियो। त्यो संख्या २०१७ मा एक लाख चार हजार, २०१६ मा एक लाख चार हजार, २०१५ मा ६४ हजार र २०१४ मा एक लाख २३ भन्दा केही बढी थियो थियो। बर्सेनि यतिधेरै चिनियाँ भित्र्याइरहेको नेपाली पर्यटन बजारले २०२० मा नेपाल भ्रमण वर्ष मनाइरहँदा चिनियाँ पर्यटकबाट निकै आस गरेको थियो।

नेपाल घुम्न आउने चिनियाँको आगमन बढिरहँदा २०२० मा त्यो संख्या अझै बढ्ने आशामा पर्यटन बजार थियो। तर नेपाल आउने चिनियाँ पाहुनाको मुख्य समय चलिरहँदा चीनमा नोवेल कोरोना भाइरस संक्रमण बढ्दै विश्वव्यापी हुँदै जाँदा त्यसको मार पोखराको पर्यटन क्षेत्रले पनि खेप्न थालेको व्यवसायीले बताएका छन्।

चीन सरकारले नै आफ्ना नागरिकलाई हिँडडुलमा रोक लगाइरहँदा त्यसको असर नेपालको पर्यटन क्षेत्रमा देखिन थालेको भन्दै व्यवसायीले चिन्ता जनाए। नेपालमा पनि कोरोना भाइरसको बिरामी फेला परेको सरकारले पुष्टि गरेपछि त नेपाल आइसकेका चिनियाँ पनि झनै त्रसित हुन थालेका छन्।

आउन तयारीमा रहेकाले धमाधम बुकिङ रद्द गर्न थालेको व्यवसायीले बताएका छन्। चीनमा संक्रमण बढ्दो क्रम रहेकोले नेपाल आउने चिनियाँ त्रसित भएको उनीहरुले बताए। पोखरामा अधिक चिनियाँ पाहुनालाई सेवा दिइरहेको गिरी गेस्टहाउसका सञ्चालक खिमबहादुर नेपालीका अनुसार कोरोना भाइरसका कारण चिनियाँ पाहुनाको नेपाल यात्रा धमाधम रद्द भइरहेको छ। नेपालमा पनि यो भाइरस भेटिएको सरकारले जनाएपछि त चिनियाँ आउनै डराएको उनले बताए।

‘शुक्रबार मात्र मेरो नौवटा चिनियाँ पर्यटक समूहले पोखरा भ्रमण रद्द गरेका छन्,’ नेपालीले भने, ‘अहिलेसम्म मेरो १५ वटा समूहले भ्रमण रद्द ग(यो।’ उनका अनुसार चीनले नै आफ्ना नागरिकलाई हिँडडुलमा कडाइ गर्दा पनि चिनियाँ पर्यटक उतिसारो डराएका थिएनन्। जब नेपालमा भाइरस संक्रमित भेटिएको सरकारले पुष्टि ग(यो, त्यसपछि चिनियाँ पाहुनाले एकाएक भ्रमण रद्द गरेको उनले बताए। नेपालमा पनि कोरोना भाइरसको संक्रमण डरलाग्दो गरी फैलिएको भन्ने सन्देश चिनियाँ पर्यटकमाझ पुगिसकेकोले घुमघामका कार्यक्रम रद्द गरेको उनले बताए।

‘चिनियाँको एकै समूहमा १०–१२ जना हुन्छन्। नेपाल भ्रमण रद्द गर्ने क्रम अझै चलिरहेको छ। यो बेला चिनियाँ पर्यटक नेपाल आउने समय हो,’ उनले भने, ‘यही बेला भाइरस संक्रमण फैलिँदा चिनियाँ पाहुना आउने अवस्था रहेन।’ अहिलेसम्म नेपाल सुरक्षित गन्तव्य रहेको भनेर बुझेका चिनियाँले नेपालमा पनि भाइरस संक्रमित भेटिएको पुष्टि भएपछि असुरक्षित ठान्न थालेको उनले बताए।

यो बेला चीनमा नयाँ वर्ष मनाइन्छ। नयाँ वर्ष मनाउन साताव्यापी बिदा दिइने हुँदा यही मौका पारेर चिनियाँहरु घुमघामका लागि विभिन्न मुलुक जान्छन्। ‘नेपाल आइसकेका चिनियाँ विभिन्न रुटको पदयात्रामा छन्। नेपाल आइसकेकाहरु फर्किने हतारमा छैनन्। तर आउने तयारीमा रहेकाले भ्रमण रद्द गरेका छन,’ उनले भने, ‘यसले नेपालको पर्यटन क्षेत्रमा ठूलो मार पर्ने निश्चित छ।

चिनियाँ पर्यटकबाट ठूलो आस गरेको पर्यटन क्षेत्रले चिनियाँ भित्रिने समयमै रोग फैलिँदा पाहुनाको ठूलो हिस्सा गुमाएको छ।’ यो सिजनमा मात्र नेपालमा १५ हजार हाराहारी चिनियाँ पर्यटक आउने गर्छन्।

पछिल्लो समय नेपाल आउने चिनियाँको संख्या बर्सेनि बढिरहेको छ। भूकम्प गएको वर्ष केही खस्किए पनि त्यसपछिका हरेक वर्ष चिनियाँको आगमन बढेको छ। सन् २०२० मा नेपालले भ्रमण वर्ष मनाइरहँदा आगमन अझै बढ्ने व्यवसायीको अपेक्षा थियो। असोज अन्तिम साता नेपालको दुईदिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘नेपाल भ्रमण वर्ष २०२०’ मा बढीभन्दा बढी चिनियाँलाई घुम्न पठाउन उत्प्रेरित गर्ने प्रतिबद्धता जनाउँदा व्यवसायी ढुक्क जस्तै थिए।

भूकम्पपछि ओरालो लागेको चिनियाँ पर्यटकको आगमन पछिल्लो समय केही सुधारिँदै गए पनि सोचेजस्तो वृद्धि नभएको गुनासो व्यवसायीले गरिरहँदा राष्ट्रपति सीको आगमन र प्रतिबद्धताले व्यवसायी आशावादी देखिएका थिए।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्