Logo

नेपाल प्रहरीमा सर्वेन्द्र खनाल : ब्राण्ड कि बदनाम (भिडियोसहित)



माघ १२, काठमाण्डौ । २०४६ सालबाट प्रहरी सेवामा प्रवेश गरेका हुन् वर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल । उनी २०७४ चैत्र २९ मा महानिरीक्षक पदमा नियुक्त भएका हुन् । अधिकृत तहमा पुगेदेखि नै राम्रो काम गरेर चर्चित भएका खनाल नेपाल प्रहरीको प्रमुख बन्न त सफल भए, तर आफ्नो कार्यकाललाई पूर्ण सफल बनाउन भने सकेनन् ।

नेपाल प्रहरी प्रमुख सर्वेन्द्र खनालको पदावधि सकिन लाग्दा प्रहरीमा नयाँ नेतृत्वको चर्चा र ‘प्रतिस्पर्धा’ सुरु भइसकेको छ । त्यसैगरी खनालले आफ्नो कार्यकालमा गरेका कामको पनि मूल्याङ्कन गर्ने समय आएको छ । अपराध अनुसन्धान महाशाखामा प्रमुख हुँदा उनले गरेका कामको लामो फेहरिस्त बन्न सक्छ । फुटबलको म्याच फिक्सिङका संलग्न खेलाडीहरुको गिरफ्तारी, गुण्डा नाइकेमाथिको इन्काउन्टर, काठमाडौंको बढ्दो ट्राफिक व्यवस्थापन, व्यवसायीमाथि धम्क्याउने गिरोहलाई कारवाहीलगायतमा प्रभावकारी भूमिका खेलेकाले सर्वेन्द्रको प्रशंसा हुन धेरै समय लागेन ।

तर प्रहरी प्रमुखको जिम्मेवारी लिएपछि भने उनले अपेक्षाकृत रुपमा काम गर्न नसकेको भने पक्कै हो । खनाललाई प्रमुखको जिम्मेवारीबाट बाहिरिदा सायद सबैभन्दा बढि घचघच्याइरहने विषय बन्ने छ, कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण । इतिहासकै एउटा चर्चित दुखद घटना मानिएको निर्मला प्रकरणका दोषी पहिचान गर्न नसकेको आरोप खनालमाथि छ ।

खनालकै कार्यकालमा ३३ किलो सुन काण्ड पनि ठूलै चर्चामा रह्यो । सुन काण्डको अनुसन्धानले पनि पूर्णता पाउन सकेको छैन । यि दुई घटनामा नेपाल प्रहरी असफल भएको आरोप लाग्दै आएको छ र यसको अवजस उनै खनालले लिनुपरेको छ ।

त्यसो त खनाल एकाध घटनालाई जोडेर खनाललाई असफल भनिहाल्न मिल्दैन । ठूला घटनामा हुने राजनीतिक हस्तक्षेप र सरकारको निर्देशन उनै खनालले भोगेको हुनुपर्छ । अपराध नियन्त्रणदेखि शान्ति सुरक्षा कामय गर्ने विषयमा नेपाल प्रहरी पूर्ण सफल हुन नसकेको पूर्व प्रहरी अधिकारी जयबहादुर चन्द बताउँछन् ।

https://youtu.be/X_zmYp13gQs

नेपाल प्रहरीले ‘समुदाय– प्रहरी साझेदारी’ नामक नयाँ कार्यक्रम अभियानको रुपमा अघि सारेको थियो । प्रहरी मेरो साथी अभियान पनि चलिरहेकै छ । ‘मुस्कानसहितको सेवा’ कार्यक्रम पनि प्रहरीले ल्याएको थियो । यस्ता कार्यक्रमको उद्धेश्य भनेको प्रहरीले गर्नुपर्ने काममा नागरिकको सहकार्य अनि प्रहरी र नागरिकबीचको सम्बन्ध सुमधुर हो । तर अभियान एकातिर व्यवहार अर्कोतिर भइरहेको छ ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानमा संलग्न प्रहरी अधिकृत आफैं बर्खास्तीमा पर्नु, बौद्ध वृत्तका तत्कालीन डिएसपी श्यामकुमार राई घुससहित पक्राउ पर्नु, सुर्खेतमा घुस लिएर भाग्दै गरेका प्रहरी निरीक्षक सुशोभन श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गर्नु जस्ता घटनाक्रमले प्रहरी संगठनभित्रको वेथिती उजागर गर्छ ।

यतिबेला गायिका आस्था राउत र त्रिभुवन विमानस्थलको प्रहरी प्रशासन चर्चामा छ । राउतले गल्ती गरिन् वा प्रहरीले त्यो विस्तारै खुल्दै जाला । यसअघि पनि प्रहरी र सर्वसाधारणबीचको विवाद सार्वजकि नभएका होइनन् । अधिकांश घटनामा प्रहरीको गल्ती देखिने गरेको छ ।

शान्ति सुरक्षा र अपराध नियन्त्रण प्रहरीको मुख्य जिम्मेवारी भएपनि यदाकदा भ्रष्टाचार, फितलो अपराध अनुसन्धान, फेक इन्काउन्टर, जालसाँजी लगायतका अपराधजन्य क्रियाकलापमा संलग्न भएपछि प्रहरीप्रति सर्वसाधरणको गुनासो कायमै रहने गरेको छ ।

सडक र सवारी व्यवस्थापनका क्रममा ट्राफिक प्रहरीले गर्ने व्यवहारबाट पनि सर्वसाधारण दिक्क हुने गरेका छन् । नयाँ प्रहरी महानिरीक्षक र गृहमन्त्री आउने वित्तिकै नयाँ नारासहितका कार्यक्रमको उद्घाटन हुन्छ । गृहमन्त्रीले प्रतिवद्धता पनि व्यक्त गर्छन् । तर प्रहरीको कार्यशैली नफेरिएपछि ती नारा क्षणिक बन्नपुग्छन् ।

पछिलो समय सर्वसाधारण, पत्रकार, कलाकार, लेखकलगायतलाई विभिन्न बहानामा प्रहरी प्रशासनले दुःख दिने गरेको आरोप लाग्दै आएको छ । जनताको निकटतम सम्पर्कमा रही अहोरात्र जनताकै सेवा र सुरक्षामा समर्पित रहने प्रहरीको जनतासँग सधैं नजिकको हेलमेल एवं सुमधुर सम्बन्ध हुनुपर्छ ।

एकले अर्काको पीरमर्का र समस्या बुझ्ने, आफूबाट हुन र गर्न सकिने सहयोग पु¥याउने तथा आपतविपत्तको अवस्थामा सहारा बनिदिने अवस्था सिर्जना भए मात्रै प्रहरी र जनताबीचको सम्बन्ध सुदृढ भएको अनुभूति हुन्छ ।

खनाल आइजिपी हुँदा विप्लव समूहको आतंक बढेको थियो । उनकै कार्यकालमा ठूला विष्फोट पनि भए । तर यसमा भने खनाललाई मात्रै अवजस दिन उचित मानिदैन । यसबीच खनालको कार्यकालमा उच्चपदस्थ व्यक्तिहरु पक्राउ परे । कांग्रेस सांसद अफताब आलम पक्राउ परे । त्यसमा उनको भूमिकाको कदर गर्नैपर्छ । तत्कालीन सभामुख कृष्णबहादुर महरासम्म पक्राउ परेपछि कानूनको नजरमा कोही सानो ठूलो हुन्न भन्ने सन्देशसमेत गएको छ । समग्रमा खनालको कार्यकाल मध्यम रह्यो भन्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्